इटहरी : उद्योग वाणिज्य संघ बेलबारीमा भेषकुमार श्रेष्ठ (अशोक) को प्यानल विजयी भएको छ । जेष्ठ २० गते शनिवार भएको निर्वाचनमा माधवराज थापाको प्यानललाई पराजित गर्दै श्रेष्ठ नेतृत्वको प्यानल विजयी भएको हो ।

अध्यक्षमा श्रेष्ठ विजयी वरिष्ठ उपाध्यक्षमा सन्दीप राई, उद्योग उपाध्यक्ष राजन गोर्खाली दर्नाल, वाणिज्य उपाध्यक्ष केशव थापा मगर र महासचिवमा विवेक मिश्र विजयी भएका छन् । त्यस्तै उद्योग सचिवमा सुरेश कुमार श्रेष्ठ, वाणिज्य सचिव टिकाराज श्रेष्ठ, कोषाध्यक्ष अर्जुन कुमार कार्की र सह कोषाध्यक्ष वसन्त नेपाल विजयी भए ।

१ जना सदस्य बाहेक सम्पूर्ण सदस्य पनि श्रेष्ठ नेतृत्वकै प्यानल विजयी भएको छ । निक्कै प्रतिष्ठाको साथ हेरिएको उवासंघ बेलबारीको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धन र नेकपा एमाले निकट व्यवसायी बिच प्रतिस्पर्धा भएको हो ।

१२ सदस्यमा श्रेष्ठको प्यानलका दिनेश मण्डल पराजित हुँदा थापा समूहका प्रशान्त निरौला विजयी भए । बाकी सदस्यमा श्रेष्ठको प्यानलबाट अस्मिता सुवेदी, उर्मिला देवी तामाङ, कमला कुमारी श्रेष्ठ, काचीलाल धिताल, खगेन्द्र खनाल, दिवस राई, नीरज चौधरी, राजु श्रेष्ठ, रामकाजी राई, सुजित कुमार शाह र शिव कुमार राई विजयी भएका हुन् । लेखा समिति संयोजकमा नर बहादुर माझी र सदस्यहरूमा सुरेन्द्र सिंह बस्नेत र पवित्रा देवी भगत कलवार विजयी भएका छन् ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एसको र जनमुक्ति पार्टीको समर्थन पाएका श्रेष्ठले उवासंघमा नेतृत्व गर्ने अवसर पाएका छन् । स्वयम्भू ज्वेलर्सका सञ्चालक श्रेष्ठ सुनचाँदी व्यवसायी संघका संस्थापक उपाध्यक्ष हुन् । दलीय हिसाबमा पनि बलियो देखिएका उनी बेलबारीका सरल स्वभावका व्यक्ती हुन् ।

व्यवसायीलाई घर बहाल करबाट मुक्त गराउने श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । व्यवसाय तथा पर्यटन महोत्सव मार्फत व्यापार वृद्धि गर्ने देखी प्रत्येक वर्ष कर तथा व्यवसायीक प्रवर्धन तालीम प्रदान गर्ने उनले बताए ।

व्यवसायीक आपत्कालीन कोषको स्थापना गरी आगलागी वा अन्य कारण डुब्न लागेका व्यवसायीको उद्धार गरिने बाचा गरेका छन् । सफा र सुन्दर बजार निर्माणमा स्थानीय सरकार सँग पहल गरी फूलबारी सहितको बजार व्यवस्थापन गर्ने उनको भनाई छ ।