इटहरी : सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ का श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकालले शनिवार आत्महत्या गरे । विद्यालय परिसर भित्रै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका उनको अस्पताल लैजाने क्रममा निधन भएको हो ।

लेखापाल आत्महत्याको कारण बारे यकिन अनुसन्धान विवरण सार्वजनिक भएको छैन । लामो समय देखी तनावमा रहेको बताउँदै आएका उनले विद्यालयको लेखा परीक्षण अन्तिम चरणमा पुर्‍याउने विषयमा छलफल हुने दिन नै आत्महत्या गरेका छन् ।

विद्यालयको लेखा परीक्षण अन्तिम चरणमा पुग्नु र विद्यालयमै आत्महत्या गर्नुले ढकाल माथि नै प्रश्न उब्जिएको छ। किन विद्यालयमै आत्महत्या गरे र लेखा परीक्षण प्रतिवेदन अन्तिम चरणमा पुग्नै लाग्दा भएको आत्महत्यामा प्रश्न उब्जिएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर उदय शमशेर जबराले थप अनुसन्धान भइरहेकाले केही भन्न नसकिने बताएका छन् । प्रहरीलाई प्राप्त जानकारी अनुसार विद्यालयको आन्तरिक लेखा परीक्षण भइरहेको समयमा आत्महत्या भएको उनले बताए । सुरुमा किरा मार्ने औषधि सेवन गरेको र पछि आफ्नै बाइकको पेट्रोल खन्याएर आगो लगाएको इन्स्पेक्टर जबराले जानकारी दिए ।

सुन्दरहरैचा नगरपालिकाले सम्पूर्ण विद्यालय सँग लेखापरिक्षण प्रतिवेदन माग गरेको थियो । वैशाख भित्र बुझाउनुपर्ने समय सीमा भए पनि व्यवस्थापन समितिको निर्वाचनको कारण अधिकांश विद्यालयले ढिला गरेका थिए । त्यस मध्ये श्री माविले पनि प्रतिवेदन बुझाएको थिएन । नगरपालिकाले प्रतिवेदन नआए थप निकासा रोक्ने चेतावनी दिएपछि विद्यालयहरू तातिएका थिए । माग फारम ल्याउँदा लेखा परीक्षण प्रतिवेदन माग गरेपछि विद्यालयहरू दबाबमा थिए ।

विद्यालयका प्रधानाध्यापक दुर्गा गुरागाईँ प्रतिवेदन सँग आत्महत्याको कुनै सम्बन्ध नभएको बताउँछन् । सो घटनाले आफूलाई समेत तनाव भएको उनले प्रतिक्रिया दिए ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष प्रमीला कुमारी खवास भर्खरै समितिमा आएकाले धेरै कुरा जानकारी नभएको उनले बताउँछिन् । उनका अनुसार लेखा परीक्षण प्रतिवेदनको विषयमा सोही दिन छलफल गर्ने समय तय भएको थियो ।