इटहरी : इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको अध्यक्षमा नवराज चापागाईँ विजयी भएका छन् । शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार चापागाईँ समूहका उम्मेदवारहरू विजयी भएका हुन्  ।

चापागाईँले १३१७ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी नेकपा एमालेका सुरेन्द्रबहादुर थापाले ११४५ मत पाए । अध्यक्षकै उम्मेदवार गीताबहादुर सोडारीले ६१६ र प्रदीपकुमार राईले ९३ मत पाएका हुन् । ५६६६ मतदाता मध्ये ३५३६ जनाले मतदान गरेका थिए । त्यसमध्ये ३१७१ मत मात्र सदर भयो ।

उपाध्यक्ष पदमा एमालेका थापा प्यानलबाट उम्मेदवारी दिएका जयप्रसाद सिटौला ८८९ मत पाएर विजयी भए । गठबन्धनका कृष्णप्रसाद घिमिरेले ६२९ मत ल्याए ।

महिला उपाध्यक्षमा गठबन्धन प्यानलबाट बिन्दा दाहाल थापा ११९० मत ल्याएर विजयी भने सचिवमा अर्जुन गजुरेलले १११३ मत प्राप्त गरेर विजयी भएका छन् । कोषाध्यक्षमा पनि गठबन्धनकै ताराराज ढकालले १०४३ मत सहित विजयी भए ।

खुल्ला सदस्यमा कैलाश निरौला, धुब्र भण्डारी र भविन पाण्डे विजयी भए । महिला सदस्यमा बिमला राई, मनमाया तामाङ र विपना श्रेष्ठ निर्वाचित भएका हुन् ।

लेखा समिति संयोजकको जिम्मेवारीमा हेमराज सुवेदी र सदस्यहरू केशव कार्की र उमादेवी सेडाई चयन भएका छन् ।

लामो समयदेखि अधिवेशन हुन नसकेको इन्द्रपुर खानेपानीमा चापागाईँले नेतृत्व गर्ने अवसर पाएका छन् । खानेपानीको सर्वसुलभतालाई उनले प्रमुख प्राथमिकता राख्ने भएका छन् । विगतमा एउटै व्यक्ती लामो समय नेतृत्वमा हुँदा भए गरेका भ्रष्टाचार र अनियमितताको विषय बाहिर ल्याउने उनले बताएका छन् ।

sachip-chapagain