विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक घरमा वृक्षारोपण गर्न आग्रह गरेका छन् ।

५० औँ विश्व वातावरण दिवसका अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगर र विभिन्न संस्थाको सहकार्यमा विराटनगर महानगरपालिकाको वातावरण शाखाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वनजंगल मासिँदै जाँदा वातावरणमा गम्भीर असर परेको बताए  ।

उनले दिवसमा मात्रै नभएर वातावरण संरक्षणमा अन्य समयमा पनि लाग्नुपर्नेमा जोड दिए । “सहरी क्षेत्रमा पनि हरेक घरमा केही न केही जग्गा खाली हुन्छ, जति जग्गा छ त्यहाँ बिरुवा रोपौँ,” उनले भने, “यदि ठाउँ छैन भने घरको छतमा भए पनि ठुला नहुने बिरुवा रोपौँ । यसले पनि महानगरलाई हरियाली बनाउन सहयोग पुग्छ ।”

मेयर कोइरालाले जलवायु परिवर्तनका कारण मानव जीवनसँगै जीवजन्तु र पशुपक्षीमा समेत गम्भीर असर पर्न थालेको उल्लेख गरे । भौतिक संरचना निर्माण गर्दा रुख कटान गर्दा पर्यावरणमा धेरै नै समस्या देखिन थालेको उनको भनाइ थियो ।

“अहिलेको जुन जलवायु परिवर्तनको समस्या छ । यो हाम्रो जस्तो देश र हामीले गरेर रोक्न सकिँदैन,” उनले भने, “तर हामीले वृक्षारोपण गरेर, वनजंगल जोगाएर हरियाली बनाउन सक्छौँ ।” ‘एक घर एक रुख’को नीतिलाई महानगरले कडाइका साथ लागू गर्ने उनले प्रतिबद्धता जनाए ।

महानगरसँगको सहकार्यमा दिगो विकास इन्स्टिच्यूटसहित विभिन्न संस्थाले साइकल र्‍यालीसमेत निकालेका थिए । मेयर कोइरालाले साइकल कुदाएर र्‍यालीको उद्घाटन गरेका थिए । हिमालय रोडबाट सुरु भएको र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।