धरान : धरान जेसीज तथा धरान जेसीज प्रथम महिला समूहद्वारा शनिवार विश्व रक्तदाता दिवस मनाउँदै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संयुक्त रूपमा आयोजित रक्तदान कार्यक्रमबाट कुल ६१ पिन्ट रगत सङ्कलन भएको धरान जेसिजका महासचिव दीपेन्द्र श्रेष्ठ कसजुले बताए । रक्तदान रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग भएको हो ।

अत्यधिक गर्मी बढेको बेला धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढेको छ । यसै बेला हुनसक्ने रगत अभाव कम गराउन रक्तदान कार्यक्रम गरिएको धरान जेसीजले जनाएको छ ।

भानुचोक बसपार्क स्थित लोकतान्त्रिक चौतारीमा भएको खुल्ला रक्तदानको औपचारिक कार्यक्रम धरान जेसिजका अध्यक्ष आशिष राज यादवको सभापतित्वमा भएको हो । प्रमुख अतिथि प्रदेशसभा सदस्य यशोदा कायस्थ थिइन् ।

धरान वडा १ का अध्यक्ष यज्ञमनि आचार्य, वडा २ का अध्यक्ष रमेश राई रक्तदान कार्यक्रममा उपस्थित थिए । व्यवस्थापन जेसीज पूर्व अध्यक्ष क्लबका संयोजक सुनिल श्रेष्ठ एवं प्रथम महिला समूहकी संयोजक उषा श्रेष्ठको समूहले गरेको हो ।

संयोजक लोकेन्द्र श्रेष्ठले रक्तदानमा प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्नेहरूलाई आभार व्यक्त गरे । कार्यक्रम सञ्चालन जेसिज महासचिव दीपेन्द्र श्रेष्ठ कसजुले गरेका थिए ।

DRN-JCI-blood-donation