• सुकदेब चौधरी

इनरुवा : सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाका नगर प्रमुखलाई आफ्नो बजेट, नीति तथा कार्यक्रममा व्यावसायिक कर नबढाउन माग गर्दै आइतबार उद्योग वाणिज्य सङ्घ इनरुवाले ज्ञापन पत्र बुझाएको छ । 

उवासंघ इनरुवाले आर्थिक वर्ष २०८०/०८१ कालागी नगरपालिकाले आफ्नो वार्षिक नीति, योजना तथा कार्यक्रम ल्याउँदा व्यावसायिक कर नबढाउन आग्रह सहित १२ बुँदे माग र सुझाव राख्दै ज्ञापन पत्र बुझाएको हो । 

नगरपालिकाको बजेटमा आफूहरूको माग समावेश गर्नका लागि उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्र कुमार साह सहितका पदाधिकारीहरूले ज्ञापन पत्र बुझाएका हुन ।

व्यवसायीक कर घटाउनुपर्ने वा यथास्थितिमा राख्नुपर्ने, व्यवसायीक स्किमहरूमा छुटको व्यवस्था ल्याउनुपर्ने, उद्योगी र व्यवसायीको सुरक्षालाई ध्यानमा राखेर सडक बत्तीको व्यवस्था गर्नुपर्ने, फोहोर मैला व्यवस्थापन गर्नुपर्ने, महिला उद्यमीलाई छुट सहितको व्यवस्था गर्नुपर्ने, बजार क्षेत्रमा व्यवस्थित ढल निर्माण गर्नुपर्ने सहितका १२ बुँदे माग राखेर व्यापारीको टोलीले इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र उपप्रमुख विनीताकुमारी मेहतालाई ज्ञापन पत्र बुझाएको सङ्घले जनाएको छ ।

बजारमा सवारीसाधन व्यवस्थापन गर्न पाकिङको व्यवस्था गर्नुपर्ने, सार्वजनिक शौचालयको व्यवस्था गर्नुपर्ने, सडक व्यवस्थापनमा ध्यान दिनुपर्ने, सामग्री लोड भएको सवारीको आगमनलाई समय निर्धारण गर्नुपर्ने, बजारमा निःशुल्क खानेपानीको व्यवस्था मिलाउनुपर्ने, सडक सञ्जाल जोड्ने काम गर्नुपर्ने माग ज्ञापन पत्र राखेको सङ्घका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिए ।

सङ्घले आगामी आर्थिक वर्षका कार्यक्रममा नीतिगत राय सुझावलाई सम्बोधन गर्ने अपेक्षा परेको अटलको भनाई छ  ।