धरान : बसले स्कुटरलाई ठक्कर दिँदा सडक दुर्घटनामा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित भिडले बसमा आगजनी गरेको घट्नामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा मोरङ पथरी शनिश्चरे-१ का १८ वर्षीय प्रज्वल भन्ने गोकुल भण्डारी, वडा ४ सम्झना चोकका २८ वर्षीय जीवन थापा, वडा ९ गिरि टोलका २० वर्षीय मानव भन्ने अनमोल राई, वडा २ नवज्योतिका २० वर्षीय आयुस रिजाल र २० वर्षीय गोरे भन्ने मोहन कुमार मगर छन् ।
उनीहरूलाई गएको बिहीबार जेठ २५ गते उर्लाबारी वडा ३ नयाँ मङ्गलबारेमा मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उक्त बसले प्रदेश न-०१-०१-०१३ प २९० नम्बरको स्कुटरलाई अगाडीबाट ठक्कर दिँदा स्कुटर चालक झापा कमल गाउँपालिका-२ का ३३ वर्षीय पवन सुबेदी गम्भीर घाइते भई उपचारको लागि मदन भण्डारी अस्पताल, ट्रमा सेन्टर मङ्गलवारे पुर्याउदा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।
दुर्घटना लगत्तै घटनास्थल भेला भएका आक्रोशित भिडका बिचबाट बस तोडफोड गर्नुका साथै आगो समेत लगाइएका थियो । सोही भीडका रहेका मध्ये तोडफोड, आगजनी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आपराधिक उपद्रव कसूरमा मोरङ जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटना लगत्तै बस चालक झापा कन्काई नगरपालिका-३ का ३२ वर्षीय टङ्कप्रसाद सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
urlabari-accident