इटहरी : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन ।

केही मौलिक कार्यक्रम ल्याउने प्रयास गरे पनि मुख्यमन्त्री हिक्मत कुमार कार्कीले रुचाएको पुरानै कार्यक्रमले निरन्तरता पाएको छ । प्रदेश सरकारमा पहिलो पटक आन्तरिक मामिला मन्त्री हुँदा कार्कीले रुचाएको कार्यक्रम हो ‘म अघि बढ्छु’ । ‘मअघि बढ्छु’ कार्यक्रम कार्यकर्ता भर्ती केन्द्र मात्र भएको भन्दै राजेन्द्र राई मुख्यमन्त्री भएपछि ‘हामी स्वयंसेवी’ मा रूपान्तरण भयो । हाल ‘हामी स्वयंसेवी’ कार्यक्रम १४ वटै जिल्लामा सञ्चालित छ ।

लागुऔषध, नियन्त्रण विपद् व्यवस्थापन तथा नागरिक सुरक्षाको समान उद्देश्य राखिएको कार्यक्रम विद्यालय स्तरमा जारी छ । लागुऔषध तथा दुव्र्यशनी विरुद्ध सचेतना गर्नको लागि कार्कीकै इच्छा अनुसार पुरानै कार्यक्रम आएको हो । हाल मुख्यमन्त्री कार्कीकै मातहतमा आन्तरिक मामिला मन्त्रालय सञ्चालनमा छ ।

त्यसबाहेक शिक्षालाई रोजगारमूलक एवं सूचना प्रविधिमैत्री बनाउने कुरामा जोड दिइएको छ । प्रदेश लगानी सम्मेलन आयोजना गर्ने, आन्तरिक राजस्व वृद्धिको लागि सम्भाव्यता अध्ययन गर्ने विषय कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशलाई औद्योगिक हबको रूपमा विकास गर्न उपयुक्त स्थानमा “कोशी औद्योगिक क्षेत्र” स्थापनाको लागि अध्ययन गरिने भएको छ ।

स्थानीय तहसँगको समन्वयमा शीत भण्डार निर्माण तथा सञ्चालनमा सहकार्य गर्न “एक स्थानीय तह एक उत्पादन कार्यक्रम” लाई व्यवस्थित गर्दै लगिने कुरामा जोड दिइएको छ । अल्लो, बाँस, बेत बाँस, भेडाको ऊन, पशुहरूको छाला, कोगटी जस्ता स्थानीय कच्चा पदार्थमा आधारित सङ्कलन तथा प्रशोधन केन्द्रको स्थापना गरी परम्परागत उद्यमशीलता प्रवर्द्धन गरिने भएको छ ।

प्रदेश तथा स्थानीय तहका स्वीकृत तर रिक्त दरबन्दीमा कर्मचारी पदपूर्ति गर्न प्रदेश लोकसेवा आयोगलाई प्रभावकारी बनाइने बताइएको छ । प्रदेश स्तरीय सञ्चार माध्यमहरूलाई नियमन गर्न आवश्यक कानुन निर्माण गर्ने देखी सूचना मैत्री मन्त्रीपरिषद् बनाउने योजना अगाडी बढाइएको छ ।

लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय तहमा संरक्षण कोषको व्यवस्था गर्न सहजीकरण गरिने, कोशी प्रदेशभित्रका विभिन्न जातजाति, भाषा भाषी, सांस्कृतिक र ऐतिहासिक क्षेत्रभित्र रहेका लिपि, भाषा, साहित्य, कला, संस्कृति आदिको संरक्षण, संवर्धन, अध्ययन, अनुसन्धान गरी यस क्षेत्रलाई संवृद्ध बनाउनका लागि प्रादेशिक संस्कृति नीति तर्जुमा गरिने बताइएको छ ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका स्थित “बैजनाथपुर क्रिकेट मैदान” लाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक क्रिकेट मैदान र झापा जिल्लाको कमल गाउँपालिका पाडाजुँगी स्थित 'आदिवासी जनजाति रङ्गशाला' लाई प्रादेशिक रङ्गशालाको रूपमा विकास गरिने कुरालाई नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको पुर्णपाठ :