इटहरी : नेपाल जेसीजको आयोजना तथा तरहरा जेसीजको आतिथ्यमा इटहरीमा मास्टर टट कार्यक्रमको आयोजना गरिने गरी तयारी पूरा भएको छ ।

बिहीबार बिहान तरहरा जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिइएको छ ।

कार्यक्रम निर्देशक मणिराम श्रेष्ठका अनुसार असार १ गते (शुक्रवार) देखि ४ गतेसम्म इटहरी २ मा रहेको सोल्टी वेस्टेण्ड होटेलमा देशभरका ४४ जनालाई सहभागी गराएर मास्टर टट कार्यक्रम आयोजना गर्ने गरी तयारी पूरा भएको छ । ‘तालिम लिएर तालिम दिन सक्ने बनाउनका निम्ति यो कार्यक्रमको आयोजना गरिएको हो,’ श्रेष्ठले भने, ‘नेपाल जेसीज स्थापना भएपछि हालसम्म एक पटक मात्रै मास्टर टट कार्यक्रमको आयोजना भएको छ ।’

तरहरा जेसीजका अध्यक्ष बहादुर तामाङका अनुसार कार्यक्रममा कूल २१ लाख ५५ हजार खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । जसमध्ये तालिममा सहभागीबाट ९,७८,६८० प्राप्त हुने र बाँकी सौजन्य तथा सहयोगबाट उठाइने उनले बताए ।

‘तरहरा  जेसीज वर्ष  २०२३ मा ‘लिडरसिप फर बेटरमेन्ट प्रकरणको साथ अझ सशक्त  ढङ्गबाट अघि बढेको छ,’ तामाङले भने, ‘जेसीज प्रतिभाहरूलाई सीप, ज्ञान र प्रविधिहरूबाट आफ्नै उच्च प्रभावकारी प्रशिक्षक बन्न, बनाउनको लागि यो कार्यक्रमले सहज हुनेछ ।’

कार्यक्रम संयोजक विवेक विवश रेग्मीका अनुसार चार दिन सम्म चल्ने तालिममा सहभागीहरूले तालिमपछि भने दक्ष प्रशिक्षक बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार तालिमको मुख्य प्रशिक्षकका रूपमा जेसीआई सिनेटर योगेश चन्डक र प्रशिक्षकका रूपमा जेसी डा. सन्देश दास श्रेष्ठ रहेका छन् ।

‘हामीले यसअघि पनि शाखामा विभिन्न तालिम आयोजना गरेका छौँ,’ रेग्मीले भने, ‘यो कार्यक्रम नेपाल जेसीजकै रहेको र तरहरा शाखाले आतिथ्य ग्रहण गर्न पाउनु शाखाको उपलब्धि हो ।'