धरान : धरान खानेपानी व्यवस्थापन बोर्डको विधि, प्रक्रिया अनुसार बैठक बसेर मेयर हर्क साम्पाङलाई नै अध्यक्ष बनाउन सकिने कुरा बोर्डका पूर्व अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राईले बताएका छन् ।

बोर्डका कार्यकारी समितिका सदस्यहरूद्वारा आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘बोर्डका सदस्यहरूले बैठक बसेर विधि प्रक्रिया अनुसार उहाँ (मेयर साम्पाङ)लाई नै अध्यक्ष बनाउन सक्छन् ।’  

तर मेयर साम्पाङ विश्वासको सङ्कटमा रहेको उनले बताए । यसअघि मेयर साम्पाङले बोर्डका सदस्यहरू सँग बसेर काम गर्न नसकिने भनी सार्वजनिक अभिव्यक्ति दिएको कुरा उल्लेख गर्दै उनले भने ‘म नगर प्रमुख निर्वाचित भएर पद बहाल गर्दा पनि यस्तै स्थिति थियो ।’ तर, सहज रूपमा आफूलाई अध्यक्ष चयन गरेको उनले बताए ।

स्वर्गीय मेयर तारा सुब्बाको कार्यकालका बोर्डका सदस्यहरूले आफूलाई हार्दिकता साथ बोर्ड कार्यालयमा स्वागत गर्दै नगर प्रमुखको हैसियतमा पदेन सदस्यको शपथ ग्रहण गराएको बताउँदै भने ‘लगत्तै बसेको बैठकले मलाई बोर्डको अध्यक्ष चयन गरे ।’

त्यसबेला बोर्डका सदस्यहरूलाई काम बाँडफाँड गरेर टिम स्पिरिटमा काम गरेको बताउँदै उनले बोर्ड सदस्यहरूको कार्यकाल एकै साथ नसकिने बताए । अवधि सकेर खाली भएको ठाउँमा बोर्डको ऐन बमोजिम नयाँ सदस्य मनोनीत गर्दै जानुपर्ने ऐनले व्यवस्था गरेको उनले बताए ।

बोर्डका अन्य चार सदस्यहरू मध्ये सुनसरी उद्योग वाणिज्य सङ्घ पदेन सदस्य रहेकाले सङ्घको सदस्यता खाली हुन्न । हालका सदस्यहरू सूर्यबहादुर भट्टराई (मनोज)को कार्यविधि साउनमा सकिदैछ । श्याम पोखरेल आउँदो माघ सम्म सदस्य रहने छन् । देवराज श्रेष्ठको अवधि सकिएको छ । 

बोर्डका पूर्व अध्यक्ष राईले आफ्नो कार्यकालमा नियमित बोर्डको बैठक बसी बाँडफाँड अनुसार सदस्यहरूले गरेका कामको समीक्षा हुने गरेको बताए । कोरोना कालमा पनि बोर्डका सदस्यहरूले खानेपानी व्यवस्थापनमा जोखिमबाट बचेर रातोदिन खटेको उनले बताए । 

मेयर साम्पाङ निर्वाचित भएर आएपछि एक वर्षको अवधिमा बोर्डको बैठक नबसेको भन्दै सदस्यहरूले बैठक बोलाउन माग गर्दै पूनरावेदन अदालतमा निवेदन दिएका छन् । उक्त निवेदन उपर हिजो बिहीबार हुने छलफल ‘हेर्न नमिल्ने’मा परेपछि पेसी असार ११ गते सरेको छ ।

मेयर साम्पाङले हिजै पत्रकार सम्मेलन गरी बोर्ड सदस्यहरू अनधिकृत रहेको र आफू माथि मुद्दा लगाएर खानेपानीको काम अवरुद्ध गर्न खोजेको आरोप लगाए । उनले अदालत परिसरमा मुद्दाको लडाई गर्नेहरूलाई ‘एक्ला एक्लै भिड्न आउन’ भनी चुनौती दिएको पनि सञ्चार माध्यममा भाइरल भएपछि बोर्ड सदस्यहरूले आज शुक्रवार पत्रकार सम्मेलन गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोर्ड सदस्य तथा वडा-१७ का अध्यक्ष सूर्यबहादुर भट्टराई मनोजले भने ‘हामीले मेयर साबलाई मुद्दा हालेकै छैनौ, खानेपानी बोर्डको बैठक बोलाउन माग मात्रै गरेका हौँ ।’ बैठक बोलाउन बोर्डका कार्यकारी समिति सचिव तथा कार्यकारी निर्देशक राजु पोखरेललाई पटक पटक मौखिक, लिखित पत्र दिँदा पनि बैठक नबोलाएकाले कानुनी बाटो अपनाएको उनले बताए ।

बोर्ड सदस्य श्याम पोखरेलले भने ‘बैठक बोलाएमा हामी उहाँ (मेयर साम्पाङ)लाई नै अध्यक्ष बनाउन सक्छौँ तर विधि र प्रक्रियामा आउनु पर्‍यो भन्ने मात्र हाम्रो आग्रह हो ।’ सदस्य भएकाले बोर्डको कुरा धरानवासीलाई बुझाउनु पर्ने कर्तव्य भएकोले पत्रकार सम्मेलन गर्नु परेको उनको भनाई थियो । 

उनले भने ‘कुनै भत्ता सुविधा बिना जनताको सेवाका लागि काम गर्ने बोर्डमा बसी रहन हामीलाई कुनै लोभ लालच छैन, हामी छोडिदिन सक्छौँ ।’ तर विधि प्रक्रिया अनुसार जानु पर्छ भनेर हामीले बैठक बोलाउन माग गरेको उनको भनाई थियो । 

पत्रकार सम्मेलनमा जारी वक्तव्यमा उनीहरूले मेयर हर्क साम्पाङले श्रमदान मार्फत कोकाखोला लगायत अन्य मुहानवाट पानी ल्याउन भएको अथक प्रयास, मेहनतप्रति बोर्डका सदस्यहरूको तर्फबाट हार्दिक धन्यवाद प्रकट गरेका छन् ।

साथै श्रमदानमा सहभागी आर्थिक, भौतिक सहयोगदाताहरूलाई समेत धन्यवाद दिइएको छ । धरानको सबै भन्दा महत्त्वपूर्ण समस्या भने कै खानेपानी भएकोले अहिले नगर नेतृत्वले पानीका लागी गरेका सबैखाले प्रयास र प्रयत्नलाई कसैले विरोध गर्ने कल्पना समेत गर्न नहुने वक्तव्यमा उल्लेख छ ।

पदमा रहँदा होस या नरहँदा आफ्नो कार्यकालमा भए गरेका सबै खाले निर्णयहरूको जिम्मा लिनु पर्ने भएकाले कार्यकाल समाप्त हुँदै गर्दा सबै चुस्त दुरुस्त बनाएर र भएर जानु राम्रो मनी बैठकको माग गरिएको वक्तव्यमा उल्लेख छ ।

patrakar-sang-2

shyam-pokhrel-1