धनकुटा : हिजोआज बेरोजगारहरू वैदेशिक रोजगारीको चक्करमा भौँतारी रहेका हुन्छन् । राम्रो परामर्श नपाउँदा ठगिन्छन् । बेरोजगारहरूका लागि धनकुटामा शनिवार आयोजित मेलामा भने देशैमा बसेर रोजगार बन्न सकिने परामर्श लिन बेरोजगारहरूको जमघट देखियो ।

बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउन सहजीकरण गर्न वृत्ति परामर्श तथा रोजगार मेला धनकुटा नगरपालिकाले आयोजना गरेको हो । मेलामा दिनभर जमघट देखियो ।

मेलामा रोजगार प्रदायक, तालिम प्रदायक, परामर्शदाता र उद्यमका १५ स्टल थियो । मेलामा बेरोजगार  र रोजगारदाताको जमघट थियो ।

रोजगारदाता ५३ संस्थाले मासिक ७ हजारदेखि ४५ हजारसम्म तलब सुविधा दिने गरी १७० जना कर्मचारी मागसहित मेलामा विवरण बुझाएका छन् ।

होटेल, पशुपालन, चिया खेती, सवारी, ग्रिल लगायत क्षेत्रका उद्योग व्यवसायले कर्मचारी माग गरेका छन् । यता, रोजगारीको खोजी र तालिम माग गर्दै ४५५ जना व्यक्ति सम्पर्कमा आएका छन् ।

उनीहरूलाई रोजगारदाताहरूसँग सम्पर्क गराएर रोजगारीका लागि सहजीकरणको काम थालिएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए ।

मेला उद्घाटन गर्दै कोशी प्रदेश सभा सदस्य निरन राईले बेरोजगार जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याएर आयोजना गरिएको रोजगार मेला निकै फलदायी हुने विश्वास व्यक्त गरे ।

जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले तीनै तहको सरकार मिलेर व्यवसायीक शिक्षा मार्फत रोजगारमूलक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।

बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन भएमा रोजगारीको सुनिश्चितता हुने भएकाले सोही अनुसार जनशक्ति उत्पादनमा ध्यान दिन उनको सुझाव छ।

धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखेर उद्यमशीलतासँगै रोजगारी वृद्धि गर्न अघि बढ्नु पर्ने बताए ।मेलामा रोजगारीका लागि आवेदन दिएका युवायुवतीलाई थप सीप सिकाएर दक्ष बनाउन नगरपालिकाले सहयोग गर्ने उनको भनाई छ ।

उपप्रमुख भिमादेवी खनाल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी, सामाजिक विकास मन्त्रालयका शिक्षा योजना तथा अनुसन्धान महाशाखा प्रमुख कृष्णप्रसाद पोख्रेल, धनकुटा क्याम्पस प्रमुख होमबहादुर बस्नेत, उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राई, समृद्धि आयोजनाका जीवन श्रेष्ठले रोजगारी निम्ति मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

दिगो रोजगारीका लागि सीप परियोजनाको सहयोग तथा हेल्बेटासको प्राविधिक सहयोगमा आयोजित मेला आयोजना गरिएको हो ।

मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा र सीपमूलक तालिम दिने संस्थाको बारेमा पनि जानकारी गराइएको छ।

धनकुटामा पहिलो पटक आयोजना गरिएको रोजगार मेलामा स्थानीय उद्योगका उत्पादनहरू पनि प्रदर्शनीका लागि राखिएको थियो ।

dhankuta-job-fair-2