इटहरी : सङ्खुवासभाको पाँचखपन र चैनपुर नगरपालिकामा पर्ने वरुण हाइड्रो पुनः क्षतिग्रस्त बनेको छ । शनिवार राती आएको बाढीले हेवा खोलामा अवस्थित वरुण, सुपर हेवा र अपर हेवा हाइड्रोपावरमा कार्यरत कामदार समेत बेपत्ता भएका छन् ।

तिनवटा हाइड्रोपावरमा काम गर्ने २० जना बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ । २०६८ सालमा निर्माण सुरु भएको वरुण हाइड्रो २०७२ को बाढीले क्षतिग्रस्त बनेको थियो । २०७३ देखि सञ्चालनमा आएको वरुण पुनः समस्याग्रस्त बनेको हो । ४.५ मेघावाटको वरुण, ८.५ मेघावाटको अपर हेवा र ५ मेघावाटको निर्माणाधीन सुपर हेवा क्षतिग्रस्त हुँदा हेवाको हाइड्रो चुनौतीपूर्ण देखिएको छ ।

हेवा खोलामा हाइड्रोको धेरै सम्भावना भए पनि बारम्बार आइरहेको बाढीको कारण चुनौती थपिएको चैनपुर नगरपालिकाका मेयर कृष्ण कुमार तामाङले बताए । अब हाइड्रोपावरको चुनौती नियन्त्रणको लागी अध्ययन गरिने उनको भनाइ छ ।

बाढीकै कारण स्थानीय ३ जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको तामाङले जानकारी दिने ।  चैनपुर देखी गुफा पोखरी जोड्ने बाटोमा काम गर्ने कामदार पनि हराइरहेको उनले सुनाए । घरबार विहीन भएका परिवारलाई राहत र क्षतिपूर्तिको लागि आजैदेखि काम सुरु गरिएको मेयर तामाङले बताए  ।

Barun-hydro-3barun-hydro