धरान : परिवर्तनका लागि सामाजिक अभियानले यसपालि शनिवार धरान-१६ को जोरसखुवा भुल्के बुवा समूहको मिलेर मुटु, उच्च रक्तचाप र मधुमेह रोगको स्वास्थ्य परीक्षण शिविर गर्‍यो ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रशान्त साहको सहकार्यमा अभियानले सञ्चालन गर्दै आएको यो ३९ औँ  पाक्षिक शिविर हो ।

बाबु समूहको सहभागिता भएकाले डा.साहले यसपालि शिविरमा मुटु, उच्च रक्तचाप लगायतका दिर्घरोग धूम्रपान र मद्यपानबाट बढ्ने गरेको कुरामा स्वास्थ्य परीक्षण गर्न आउनेहरूलाई सचेत गराए ।

उनले भने ‘धूम्रपान र मद्यपानको लतका कारण धेरै बिरामीहरू पाइयो, धूम्रपान र मद्यपान विरुद्ध अझ जनचेतना जगाउनु पर्दछ ।’

डा. साहले बिरामीहरूलाई धूम्रपान र मद्यपानको कुलत नै समस्या भएको र आहार बिहारमा ध्यान पुर्‍याउनु पर्ने कुरामा आफूले सचेत गराएको बताए ।

बुवा समूहको सहकार्यमा भएको शिविरमा १०२ जनाको स्वास्थ्य परीक्षण गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।

उनका अनुसार सामाजिक स्वास्थ्य क्लिनिक कार्यक्रम विशेष गरी ७० वर्ष माथिका उमेर समूहलाई लक्षित गरी आयोजना गरिएको हो । शिविरमा सहजीकरणको लागि अभियन्ताहरू मोहन श्रेष्ठ, भोजराज श्रेष्ठ, वर्षा अग्रवाल, हेमचन्द्र ढकाल, निशान नेपाल, राजु फुयाँल खटेका थिए ।

त्रिभुवन बरालको संयोजकमा भएका शिविरमा स्टाफ नर्स रमला गुरागाईँले रक्तचाप परीक्षण गरिन् । मधुमेह परीक्षण र औषधी वितरण निःशुल्क गरिएको थियो ।

स्वास्थ्य परीक्षण गराएका सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विजय डाँगाले घर आँगनमै सहजता साथ स्वास्थ्य परीक्षण गर्न पाएकोमा खुसी व्यक्त गरे