वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा क्रियाशील सामाजिक संस्था नयाँ पिँढीले सामुदायिक विद्यालयमा पुगेर लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा नयाँ पिँढीले नगरपालिका भित्रका ५ बटा माध्यमिक तहका विद्यालयका बिद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतनाका लागि सैद्धान्तिक रूपमा ज्ञान दिइएको आयोजक नयाँ पिँढीका अध्यक्ष अर्जुन तामाङ (शिशिर)ले बताए ।

नयाँ पिँढीले वराहक्षेत्र-८ स्थित बाघ झोडामा रहेको कोशी माध्यमिक विद्यालय, वराहक्षेत्र-३ भरौलमा रहेको महेन्द्र माध्यमिक विद्यालय, वराहक्षेत्र-६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक विद्यालय, वराहक्षेत्र-१० प्रकाशपुरमा रहेको प्रकाश माध्यमिक विद्यालय र वराहक्षेत्र-११ मधुवनमा रहेको जनता माध्यमिक विद्यालयमा पुगेर लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना मूलक कार्यक्रम आयोजना गरिएको थियो ।

हाल लागूऔषध दुव्यसनीहरुको संङख्या समाजमा बढेको र यसले सामाजिक विकृतको रूप लिएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सचेतनाका कार्यक्रम आयोजना गरिएको नयाँ पिँढीका अध्यक्ष तामाङले जानकारी दिए । जेठ ३१ बाट सुरु उक्त सचेतना मूलक कार्यक्रम सोमवार औपचारिक रूपमा समापन गरिएको थियो ।