इटहरी : इटहरी उपमहानगरपालिकाले बाह्र महिनामा भएका बाह्र कामको सुची सार्वजनिक गरेको छ । जनप्रतिनिधिको कार्यकाल एक वर्ष (बाह्र महिना) पुरा हुँदै गर्दा भएका कामको विवरण सार्वजनिक गरिएको हो ।

उपलब्धिको पहिलो बुँदामा राजमार्ग विस्तारमा अवरोध भएका संरचना हटाइएको उल्लेख छ । विराटनगर लाइनमा रहेका घर तथा संरचना भत्काएर ६ लेन सडक विस्तारमा सहयोग पुर्‍याएको बताइएको छ ।

त्यस्तै डिजिटल प्रणालीमार्फत घर नक्सा पास सुरु गरेको र उपमहानगरले नै घर नक्सा बनाउने काम सुरुवात गरेको छ । विपन्न परिवारको घर निर्माणको नक्सा निःशुल्क बनाइदिने पनि उपलब्धिमा समावेश गरिएको छ ।

पहिलो पटक विद्यालय सुधारमा आन्तरिक लेखा परीक्षण सुरु गरेर पारदर्शिता देखाउन खोजेको बताइएको छ । कर्मचारीको खाजा र अतिरिक्त भत्ता कटौती गरेर सुशासनको प्रत्याभूति दिलाउने प्रयास थालिएको जानकारी दिइएको छ ।

थारू जातिलाई प्रथम नागरिक घोषणा गर्ने देखी दुई हजार विपन्नको निःशुल्क स्वास्थ्य बिमा गरेको प्रगति विवरणमा उल्लेख छ ।

इटहरी बजारमा सार्वजनिक शौचालय बनाएको विषय प्राथमिकतामा परेको छ । लामो समय देखि इटहरीमा सार्वजनिक शौचालय अभाव भएको भन्दै गुनासो हुँदै आएको थियो ।

इटहरीमा सुविधा सम्पन्न अस्पतालको अभाव रहेको आवाज उठेको बेला उपमहानगरपालिकाले इटहरी अस्पताललाई सुधार गरेको छ । विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गरेको इटहरी अस्पतालले आइसियु, भेन्टिलेटर सहित डायलासिस सेवा उपलब्ध गराउने तयारी सुरु गरेको छ ।

सबै सवारी साधनमा जिपिएस जडान गरेर सवारीको दुरुपयोग नियन्त्रण गरेको छ । प्रदेश सरकारको सहयोगमा इटहरी चौकमा कोसी प्रदेशकै पहिलो ट्राफिक लाइट जडान गरेको छ । घर देखि घाट सम्म सरकार कार्यक्रम अन्तर्गत साउन देखि दुई वटा शव वाहनले निःशुल्क शव बोक्ने उपमहानगरपालिकाले जनाएको छ ।

itahari-kam