वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका चक्रघट्टीमा रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले वराहक्षेत्र-८ सालवनि स्थित जनक माध्यमिक विद्यालयमा पङ्खा प्रदान गरेको छ ।

गर्मीका कारण विद्यार्थीहरूको पठनपाठनमा हुने समस्यालाई मध्यनजर गर्दै सहयोगको स्वरूप पहिलो चरणमा ६ थान सिलिङ पङ्खा प्रदान गरिएको क्लबका अध्यक्ष सन्तोष चौलागाईंले बताए ।

अत्यधिक गर्मीका कारण गत हप्ता विद्यालय नै बन्द गर्नुपर्ने अवस्थासम्म सृजना भएको कुरालाई आत्मसात् गर्दै आगामी दिनमा पठनपाठनमा केही राहत मिलोस् भन्ने उद्देश्यले यो सानो प्रयास गरेका हौँ, चौलागाईंले भनेँ ।

बराहक्षेत्र नगरपालिका वडा नं.८ को सहयोग र क्लबको आन्तरिक व्यवस्थापनबाट उक्त पङ्खा विद्यालयलाई हस्तान्तरण गरिएको हो । उक्त पङ्खा सोमवार बराहक्षेत्र नपा ८ का वडा अध्यक्ष रोशन खड्काले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

प्राप्त पङ्खाले यस असामान्य गर्मीका असहज रूपमा विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई राहत मिल्ने विद्यालयका प्रधानाध्यापक तेज प्रसाद भट्टराईले बताए । 'विद्याको मन्दिरको रूपमा रहेको विद्यालयलाई यस्तो पुण्य सहयोग गर्नु भएकोमा हामी हार्दिक आभार प्रकट गर्दछौँ,  प्रधानाध्यापक भट्टराईले भनेँ ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका कार्यपालिका सदस्य नबिना बिक, वडा नं.८ का वडा सदस्यद्वय तुलसा राई र देव नारायण मोची, विद्यालयका प्रधानाध्यापक तेजप्रसाद भट्टराई सहित शिक्षक, कर्मचारी, क्लबका पदाधिकारी, सदस्य तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।