धरान : बदलिँदो जीवन शैलीले मानिसलाई भौतिक सुविधा केन्द्रित बनाएको छ, तर उत्तरार्धमा सबै कुरा प्रयोग गर्न नसकिने अवस्था आएको बेला आत्ममा रहने सकारात्मक तरङ्गहरूलाई सक्रिय राख्ने माध्यम योग मात्र हो ।

धरानमा योग गुरु रविशंकरका अनुयायी आर्ट अफ लिभिङद्वारा विश्वयोग दिवसमा बुधवार आयोजित योग शिविरमा अगुवाहरूले उक्त धारणा व्यक्त गरेका हुन।

भारतीय भूपूहरूको पेन्सन पेईन्ङ कार्यालयका मेजर भरत कनौजीयाले जीवनमा सबै कुराको उपयोगिता सकिए पनि मानिसमा सकारात्मक तरङ्गहरू सधैँ रहको हुन्छ, त्यसलाई क्रियाशील राख्न योग मात्र अन्तिम माध्यम भएको बताए ।

उनले भने 'कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसँगै सकिन थाल्छ तर हाम्रो आत्मिक चिन्तन र सकारात्मक तरङ्गहरू रहिरहन्छ जीवनमा शान्ति पाउन योगको महत्त्वपूर्ण स्थान छ।'

संयुक्त राष्ट्र सङ्घद्वारा घोषित विश्व योग दिवस जुन २१ तारिखमा मनाइन्छ । सन् २०१४ वाट मनाउन सुरु गरिएको योग दिवसको सूत्रधार भारतीय योग गुरु रविशंकर र हाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मानिन्छ ।

सोही अवसरमा बुधवार बिहान पेन्सन कार्यालयमा र दिउँसो आर्ट आफ लिभिङ धरान च्याप्टरले धरान-१२ महेन्द्र पथ स्थित सभाहलमा योग शिविर आयोजना गरी मनाइएको हो ।

प्रमुख अतिथि प्राडा टङ्क न्यौपानेले योगको महत्त्व वास्तवमै बुझेमा दैनिक जीवन र स्वास्थ्यमा समेत सफल र निरोगी हुने निश्चित रहेको बताए । उनले भने ‘त्यसैले पनि योग गर्नु जरुरी छ ।’

बिहान प्रशिक्षक बृद्धिचन्द्र अग्रवालले योग शिविर सञ्चालन गरेका थिए । दिउँसो प्रशिक्षक पार्वती श्रेष्ठले शिविर सञ्चालन गरेकी थिइन् । शिविरमा योगका प्रशिक्षार्थीहरू सहित आतिथिहरु सहभागी थिए।

शिविरमा प्रशिक्षक सरस्वती श्रेष्ठ, जनक खडका, स्वयंसेवक भरतराज शर्मा, सुष्मा लिम्बु, धरान बडिबिल्डीङ सचिव अमन श्रेष्ठ, हिबिस्कस स्कुलका प्रिन्सिपल विजय थेबे लगायत सहभागी थिए ।

yog-sibir-2