धरान : स्थानिय सरकार उपमहानगरपालिकाले पत्रकार महासङ्घसँगको सहकार्यमा सञ्चालन गर्दै आएको फिचर लेखन वृत्ति कार्यक्रम स्थानिय पत्रकारहरूको वृत्ति विकास र सम्मानको लागि भएको उपमेयर आइन्द्रविक्रम बेघाले बताएका छन् ।

उनले पत्रकारहरूले तयार गरेको खोजमूलक फिचर लेखनले धरानको विकास, निर्माणमा उपमहानगरपालिकालाई नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुर्‍याउँदै आएको उनले बताए ।

पत्रकार महासङ्घको भवनमा आयोजित लेखवृत्ति पारिश्रमिक वितरण कार्यक्रममा उपमेयर बेघाले भने ‘यो पत्रकारहरूको मिहिनेतका पारिश्रमिक हो, श्रमजीवी पत्रकारको सम्मान हो ।’

उनले समाजमा दुई किसिमको पत्रकारिता चलेका बताउँदै उनले एकथरी सकारात्मक पत्रकारिता गरिरहेका छन् भने अर्को थरी नकारात्मक कुरा बढाई रहेको बताए ।

लेखन वृत्ति कार्यक्रमका सम्पादक हर्ष सुब्बाले पत्रकारहरूले खोजमूलक रूपमा तयार गरेका फिचरहरूले स्थानिय सरकारको ध्यान नपुगेका कुराहरूमा ध्यानाकर्षण गराउँदै आएको बताए ।

लेखनवृत्तिमा सहभागी पत्रकार नवराज विष्टले लेखन वृत्तिका विषयहरू स्थानिय सरोकारका कुराहरू हुने गरेकाले उपमहानगरपालिकाबाट आवश्यक सूचना तथा तथ्याङ्क सहज रूपमा उपलब्ध गर्न आग्रह गरे ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाले उपलब्ध गराएको पारिश्रमिक ६ जनालाई, धरान उपमहानगरपालिकाले उपलब्ध गराएको ११ जनालाई पारिश्रमिक वितरण गरिएको थियो ।

पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईको सभापतित्वमा भएको कार्यक्रम सहसचिव भोला श्रेष्ठले सञ्चालन गरेका थिए।

patrakar-lekhan-britti