इटहरी : रानी-विराटनगर-इटहरी-धरान सडक आयोजना अन्तर्गत इटहरीको मुख्य बजारका संरचना हटाइएको छ । निर्माणाधीन राजमार्गको काम अलपत्र परेपछि उपमहानगरपालिकाले शुक्रबार बिहान डोजर चलाएको हो ।

उपमहानगरपालिकाले बारम्बार ताकेता गरेर घर भत्काउन आग्रह गर्दा अटेर गरेपछि डोजर चलाएको हो । ५ महिना अगाडि  विराटनगर लाइनका ५० भन्दा बढी घर भत्काएको थियो। घर तथा अन्य संरचनाको कारण इटहरीको मुख्य बजार क्षेत्रमा सडक अलपत्र अवस्थामा छ । विराटनगर लाइनमा केही स्थानीयको अवरोधले सडक बिस्तारको काम रोकिँदै आएको थियो ।

नगरप्रमुख हेमकर्ण पौडेलका अनुसार सडक तथा सार्वजनिक जग्गाको क्षेत्रभित्रका संरचनाहरू निरन्तर हटाउँदै जाने बताएका छन् । विकासको काममा कसैलाई पनि अवरोध नगर्न आग्रह गर्दै उनले स्थानीय सरकार सहकार्य गरेर अगाडि बढ्न तयार रहेको प्रतिक्रिया दिए ।

६ लेन सडक बिस्तार आयोजनाको ४९ किलोमिटर सडक बिस्तारको काम अन्तिम चरणमा पुगेको छ । धरान र दुहबीको मुख्य बजारका घर तथा संरचना नहटाउँदा निर्माण कार्य प्रभावित भएको छ । तरहरा देखि सेउती पुल सम्मको सडक इटहरी उपमहानगरपालिकाको दबाब पछि कालोपत्रे सुरु भएको छ ।