इटहरी : विश्व प्रसिद्ध अमेरिकी होटेल ब्राण्ड 'रमडा' इटहरीमा भित्रिने भएको छ । ‘विंडहाम होटल्स्  एण्ड रिसोर्ट’ अन्तरगत रहेको रमडा नेपालको लागि काठमाडौँ पछि इटहरीमा सञ्चालनमा आउन लागेको दोस्रो होटेल हो ।

इटहरीमा निर्माणाधीन पाँचतारे होटेललाई रमडा नामकरण गर्ने गरी पर्यटन व्यवसायी देशबन्धु बस्नेतले अमेरिकी ब्राण्ड भित्राएका हुन् । रमडा ब्राण्डको संस्थापक कम्पनी विंडहाम होटल्स् एण्ड रिसोर्ट युरेसियाका बजार प्रबन्ध निर्देशक निखिल शर्मा र बस्नेत बिच शुक्रवार दिल्लीमा सम्झौता भएको छ । यसअघि इटहरी नजिकै काठमाडौँ बाहेक रमडाले दार्जिलिङ र सिक्किममा व्यवसायीक सुरुवात गरिसकेको छ ।

रमडा मार्फत कम्पनीले ९५ देशका ९ हजार बढी होटेलको व्यवस्थापन हेरिरहेको छ । एसियामै मात्र पनि २० वटा देशका १ हजार ६ सय बढी होटेल सञ्चालनमा ल्याएको छ । इटहरीमा निर्माणाधीन रमडा २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने तयारी अगाडी बढाइएको छ । होटेलले एक सय जनाभन्दा बढीलाई रोजगारी दिने अपेक्षा गरिएको छ ।

सम्झौता पछि बस्नेतले रमडा ब्राण्डसँग आफ्नो होटेललाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले विंडहाम होटेल कम्पनीसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको लागि आग्रह गरेका छन् । रमडा सहित इटहरीमा पाँचतारे दुई वटा होटेल सञ्चालनमा आउने भएका छन् । यसअघि इटहरीको धरान लाइनमा २ अर्बको लगानीमा सोल्टी वेस्टेण्ड इटहरी सञ्चालनमा आइसकेको छ ।

5 star hotel ramada 2