झापा : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा बिर्तामोडका मिटरब्याजी नवराज विमलीको घर कब्जामा लिएको छ ।

महिनौँदेखि लघुवित्त, बैङ्क तथा वित्तीय संस्था र मिटरब्याजी विरुद्ध सङ्घर्ष र चेतावनी दिँदै आएको उक्त पार्टीले आज बिर्तामोडमा प्रदर्शन सहित विमलीको घर कब्जामा लिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंहको नेतृत्वमा गएका नेता कार्यकर्ताहरूले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका छन् । विमलीको घरमा पुगेका उनीहरूले विभिन्न नाराबाजी समेत गरेका छन् ।

नवराज विमलीले सयौँ जनतालाई घरबारविहीन बनाएको, जनतालाई चरम शोषण गर्दै आत्महत्या गर्न बाध्य पारेको, शक्तिको चरम दुरुपयोग गर्दै गुन्डा प्रयोग गरेर पीडितहरूलाई धम्क्याएको आरोप नेकपाले लगाएको छ । उनले लुटेका सबै सम्पत्ति फिर्ता नगरेसम्मका लागि उनको घर कब्जा गरिएको नेकपाले जनाएको छ।

विमलीको घरमा ब्यानर राखेर घर कब्जा गरिएको घोषणा गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंहले झापाका सबै मिटरब्याजीहरुलाई नेकपाले पटक-पटक सच्चिन र पीडितहरूबाट ठगी गरेको रकम फिर्ता गर्न विनम्र आग्रह गर्दै आफूहरूले समय दिएको तर मिटरब्याजीहरुले नटेरेका कारण पार्टीले उनीहरूको सम्पत्ति कब्जा गर्नुपरेको बताए ।

नेता सिंहले यो सुरुआत मात्रै भएको बताउँदै झापाका सबै मिटरब्याजीहरुले ठगी गरेको सम्पत्ति पीडितलाई फिर्ता गर्न आग्रह गर्दै सोझा जनतालाई शोषण गरेर आत्महत्या गर्न बाध्य तुल्याउने कार्य नरोके आम जनताको माझमा मिटरब्याजीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

biplop-ghar-kabja