धरान : लायन्स क्लबले सत्यसाई स्कुलका लागि निर्माण गरिदिएको १ करोड ७० लाख रुपैयाँ लागतको भवन आज शनिवार आयोजित एक समारोहका बिच विद्यालयलाई हस्तान्तरण गरेको छ ।

नव निर्मित २ तले भवनमा १२ वटा कक्षा कोठाहरू छन् । स्कुल भवनको नाम ‘लायन्स सत्य साई भवन’ राखिएको छ ।

धरान-१३ स्थित नवनिर्मित स्कुल भवनमा आयोजित समारोहमा लायन्स क्लबले विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरेको हो ।

प्रमुख अतिथि लायन्स क्लबका इन्टरनेश्नल डाइरेक्टर सञ्जय खेतानले भवनको उद्घाटन गर्दै व्यवस्थापन समिति अध्यक्ष रवीन्द्र राजभण्डारी र विद्यालयका प्रधानाध्यापक विश्वराज खनाललाई भवन हस्तान्तरण गरेका हुन ।

उक्त अवसरमा प्रमुख अतिथि खेतानले आँखा भएर पनि शिक्षाको उज्यालो किरणबाट कसैले अन्धो हुन नपरोस् भनेर भवन निर्माण गरेको बताए ।

डिस्ट्रिक्ट गभर्नर लायन धिरज गुरुङको सभापतित्वमा भएको समारोहमा स्कुलको डेस्क, बेन्चका लागि सहयोग पनि प्रदान गरिएको थियो ।

लायन क्लब क्यापेबलका फस्ट उपाध्यक्ष तथा सत्य साइ केन्द्रको राष्ट्रिय अध्यक्ष निश्चल पालिखेले डेस्क बेन्चका लागि १० हजार रुपैयाँ प्रदान गरेका हुन ।

महिला सञ्जाल धरानकी अध्यक्ष सपना राई, रेखा गुरुङले २५ हजार, किरण राजभण्डारीले ११ हजार बालाजी स्टोर्सका सुरेश अग्रवालले २५ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

लायन्स क्लब अफ धरान पञ्चकन्याले १५ सय थान कापी प्रदान गरेको छ । क्लबले ‘शिक्षाका लागि एक रुपैयाँ’ अभियानबाट कापी प्रदान गरेको हो ।

सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयमा विभिन्न क्षेत्रका बालबालिकालाई निःशुल्क शिक्षा स्वास्थ्योपचारको सुविधा उपलब्ध गराउँदै आएको छ ।

lions-building-handover