धरान : प्रधानमन्त्री पुष्पकमल दाहालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग राख्ने प्रतिबद्धता जनाएका छन् ।

धरानबाट गएको 'वीपी प्रतिष्ठान बचाउ सङ्घर्ष समिति'को प्रतिनिधि मण्डले शनिवार बिहान प्रधानमन्त्री निवासमा भेट गरी ज्ञापन-पत्र बुझाएको थियो ।

ज्ञापन-पत्र बुझ्दै प्रधानमन्त्रीले भनेको कुरा उद्धृत गर्दै संयोजक मुक्सामहाङ मेन्याङबोले भने ‘प्रधानमन्त्री ज्युले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट हटाएर स्वायत्त नै राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।’

वीपी प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री दाहाल ले प्रतिष्ठान विशिष्ट स्वायत्त संस्था भएकोले  यसको स्वायत्तता खोसिने कुनै ऐन नआउने विश्वास दिलाउँदै सङ्घर्ष समितिको मागप्रति आफू सकारात्मक रहेको बताए ।

संयोजक मुक्सामहाङ मेन्याङबोका अनुसार प्रतिनिधि मण्डलले प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गरेको प्रतिनिधि मण्डलका साथमा पूर्व सञ्चारमन्त्री सुनसरी–४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्की, पूर्व मेयरद्वय मनोज मेन्याङबो, तिलक राई सहितको टोली थियो ।

छाता ऐनमा वीपी प्रतिष्ठानलाई गाभ्ने तयारीको विरोधमा सर्वपक्षीय संर्घष समिति गठन भई आन्दोलनको क्रममा प्रतिनिधि मण्डला प्रधानमन्त्री भेट्न काठमान्डु गएको हो ।