इटहरी : इटहरी जेसिजले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेर जेसिज सप्ताह सुरु गरेको छ । इटहरी-३ सरस्वती माविमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै जेसिजलाई समुदायसँग जोड्ने अभियान आरम्भ गरेको हो ।

शनिवारको पहिलो कार्यक्रममा १५० स्थानीयको स्वास्थ्य परिक्षण गरिएको कार्यक्रम संयोजक रविन न्यौपानेले बताए । स्थानीय गरिब जनताले नियमित स्वास्थ्य परिक्षण गराउन नसक्ने भएकाले त्यस्तै बस्ती आसपास कार्यक्रम गरिएको उनको भनाइ छ । सुगर, प्रेसर, दम, कोलेस्ट्रोल लगायत रोगको परिक्षण गरेर औषधि प्रदान गरिएको न्यौपानेले जानकारी दिए ।

प्रत्येक वर्ष समुदायमा पुग्ने अवसरको रूपमा जेसिज सप्ताह मनाउने गरिएको छ । वर्ष २०२३ को कार्यसमितिले असार ९ गते देखि १६ गते सम्म विभिन्न कार्यक्रम गर्ने भएको छ ।

पहिलो दिन स्वास्थ्य परिक्षण सम्पन्न गरेको जेसिजले दोस्रो दिन इटहरी-१७ को जनजागृति माविमा शैक्षिक सामाग्री वितरण गरिने भएको छ । त्यसपछि प्रत्येक दिन लगातार कार्यक्रम हुने बताइएको छ ।