इटहरी : ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियार सहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा आज इटहरी उद्योग वाणिज्य सङ्घले बजार बन्दको आह्वान गरेको छ ।

इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको बैङ्कको टोलीले आतङ्कित बनाएको विरोधमा उद्योग वाणिज्य सङ्घ इटहरी खरो उत्रिएको हो ।

बैङ्कको आतङ्क बढ्दै गएपछि इटहरी उवासंघले विरोधको कार्यक्रम घोषणा गरेको छ । आज बिहान ८ बजे बजार परिक्रममा गरेर आतङ्कको विरोधमा कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।

आर्थिक मन्दीले व्यापार व्यवसाय चौपट भएको बेला बैङ्कले अमानवीय र ज्यादतीपूर्ण व्यवहार गरेको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । धाकधम्की दिने र असभ्य व्यवहार देखाएको विरोधमा सोमबार व्यापार बन्दको घोषणा गरिएको उनले जानकारी दिएका छन् ।

आइतबार राती आकस्मिक बैठक बसेको उवासंघ इटहरीले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्ण व्यापारी व्यवसायीलाई आह्वान गरेको छ । व्यवसायीको मनोबल गिराउने काममा बैङ्क लागेको बताउँदै उनले त्यसको भर्त्सना स्वरूप व्यवसाय बन्द गरेर सहयोग गर्न अध्यक्ष पराजुलीले आग्रह गरे ।

आइतबार ज्वेलर्सका सरसामान जफत गर्ने प्रयास गरेको बैङ्क लामो समय गलफती गरेपछि फिर्ता भयो । समयमै ऋण नतिरेको भन्दै बैकले प्रक्रिया लिलामी प्रक्रिया अगाडी बढाइसकेको छ । लिलामी प्रक्रियाकै क्रममा सामान जफत गर्न बैङ्क ज्वेलर्स पुगेको बताइएको छ ।

उता इटहरीका व्यापारीले भने व्यवसाय बन्द गरेर बैकको आतङ्क नरोकिने धारणा राखेका छन् । एक दिन व्यापार बन्द हुँदा त्यसको असर स्वयम् व्यापारीले नै भोग्नुपर्ने उनीहरूको धारणा छ । वंश रेडिमेडका सञ्चालक गोपाल कृष्ण श्रेष्ठले पसल बन्द गर्दा व्यापारीलाई नै घाटा हुने बैङ्क बन्द गर्न तर्फ लाग्नुपर्ने बताएका छन् । मोबाइल व्यापारी विदुर धमलाले पनि बन्द गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

इटहरीका अन्य व्यापारी तथा व्यवसायीले बजार बन्द गर्ने तर्फ लाग्नु उत्तम विकल्प नभएको बताएका छन् । आतङ्क मच्चाउने बैङ्कमा व्यापारीको खाता बन्द गर्न आह्वान गर्नु सबैभन्दा उपयुक्त हुने उनीहरूको सुझाव छ ।

Global-Bank-Protest