वराहक्षेत्र : गत शनिवार बराहक्षेत्र नगरपालिकाको बाह्रौँ  नगरसभाको उद्घाटनसत्र कार्यक्रमको अवसरमा उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित भएका लेखापाल राम नारायण चौधरीले सम्मान स्वरूप पाएको रकम  अपाङ्गता भएका व्यक्तिहरूको सहकारीलाई हस्तान्तरण गरेका छन् ।

चौधरी नगरसभाको अवसरमा उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित हुँदै नगद पाँच हजार, सम्मान-पत्र र दोसल्ला सहित सम्मानित भएका थिए ।

सम्मान स्वरूप उनले पाएको ५ हजार सामाजिक विकास शाखा मार्फत अपाङ्गता भएका व्यक्तिहरूको सहकारीलाई आज सोमबार हस्तान्तरण गरेको सामाजिक शाखाका कार्यक्रम संयोजक अरुण मेहताले जानकारी दिए ।

त्यस्तै सोही नगरसभाकै अवसरमा पत्रकारको रूपमा सम्मानित भएका सदाबहार मिडिया प्रालिका अध्यक्ष बिजय कुमार राउतले पनि सम्मान स्वरूप पाएको नगद पाँच हजारबाट बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

वराहक्षेत्र-४ कौवाखोज स्थित भगवती आधारभूत विद्यालयमा आइतबार पुगेर राउतले झोला लगायत कपि, कलम  बिद्यार्थीहरुलाई वितरण गरेका थिए ।