इटहरी : इटहरी उपमहानगरपालिकाले इटहरीको सेरोफेरो विषय पाठ्यक्रममा समेट्ने भएको छ । शैक्षिक सत्र २०८० देखि स्थानीय विषयको पाठ्यक्रम अन्तर्गत इटहरीको सेरोफेरो विषय कक्षा १ देखी ८ सम्मका विद्यार्थीको लागि तयार पार्न लागिएको हो । स्थानीय कला भाषाको जगेर्ना गर्नको लागि कक्षा १ देखी ५ सम्म पढाई हुनेगरि थारु भाषाको पाठ्यपुस्तक पढाई हुने भएको छ । ऐछिक विषयको रूपमा थारु भाषाका कक्षा सञ्चालन हुने बजेट नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन हुने भएको छ । सामुदायिक विद्यालयहरूमा आवश्यकता अनुसार इन्टरनेटको क्षमता वृद्धि गरिने कार्यक्रम आएको छ । विद्यार्थीको मनोबल बढाउनको लागि त्रैमासिक रूपमा नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरिने भएको छ । संस्थागत तथा सामुदायिक विद्यालयले शैक्षिक तथा आर्थिक गतिविधि सहितको प्रगति प्रतिवेदन त्रैमासिक रूपमा अभिभावक भेला आयोजना गरी सार्वजनिक सुनुवाइ गर्नुपर्ने भएको छ।

५० वर्ष उमेर पूरा गरी ३० वर्ष स्थायी नोकरी अवधि पूरा गरेका १ वर्ष भन्दा बढी सेवा अवधि बाकी रहेका शिक्षकहरूले सेवाबाट स्वैच्छिक राजीनामा गरेमा एकमुष्ट प्रोत्साहन उपलब्ध गराइने कार्यक्रम ल्याइएको छ। समुदायको सहभागितामा विद्यालय हरियाली प्रवर्धन कार्यक्रम लागू गरिने र विद्यार्थीलाई पर्यावरण सम्बन्धी सचेतना जगाउने नीति उपमहानगरको छ ।

विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, प्रधानाध्यापक र विद्यालय कर्मचारीहरूको क्षमता विकासका लागि आवश्यक तालिम प्रदान गरिने भएको छ । विद्यालय उमेर समूहका विद्यालय नगएका र १५ वर्ष माथिका निरक्षरहरूको तथ्याङ्क संकलन गरी अभिलेख अध्यावधिक गरिने भएको छ । संस्थागत विद्यालयहरूमा देखिएको शुल्क विविधतालाई एकरूपता गरिने नीति अवलम्बन गर्ने जनाइएको छ । सामुदायिक माध्यमिक विद्यालयहरूमा क्रमशः विद्यालय नर्सको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।