धरान : विद्यार्थीहरूले वडाका जनप्रतिनिधि, टोल विकासका अगुवाका साथै अभिभावकहरूको सहभागितामा लागुऔषध विरुद्ध जनचेतना र्‍याली प्रदर्शन गरेका छन् ।

धरान-१९ स्थित आवर होम इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूको अग्रसरतामा मङ्गलवार वडामा लागूऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम सहित र्‍याली आयोजना गरिएको हो ।

विद्यार्थीहरूले प्ले कार्ड, ब्यानर र पोष्टर सहितको सचेतना मूलक र्‍यालीले वडाका विभिन्न भागमा परिक्रमा गरेको थियो ।

र्‍यालीपछि भएको कार्यक्रममा स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङले सुर्तीजन्य पदार्थहरूको सेवनले स्वास्थ्यमा पर्ने असर र चुनौती बारेमा सकेसम्म समुदायमा चेतना बढाउन विद्यार्थीहरूलाई अग्रसर गराइएको बताए ।

वडा-१९ का अध्यक्ष पूर्ण लिम्बुले कार्यक्रम समाजका लागि प्रभावकारी रहेको  बताए । उनले विद्यार्थीको अगुवाइमा यस्ता किसिमको चेतनामूलक कार्यक्रमहरू आगामी दिनमा वडाको वार्षिक कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रम कक्षा ९ की छात्रा युजीना मगरले सञ्चालन गरेकी थिइन् । अर्की छात्रा मीक्सा लिम्बुले लागूपदार्थले पुर्याउने क्षतिका बारेमा आफूले बुझेको कुरा राखेकी थिइन् ।