विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद ईद उल अजाहको अवसरमा शुभकामना सन्देश दिदैं विभिन्न धर्म, संस्कृति, भेषभूषा, रहनसहन र पहिचानको विविधताले हाम्रो मुलुक सम्पन्न रहेको उल्लेख गरेका छन् ।

यसपालि बकर इद २०८० आषाढ १४ बिहीबार (आज)  मनाइँदै छ । मुख्यमन्त्री कार्कीको सन्देशका भनिएको छ ‘विभिन्न धर्म, संस्कृति, भेषभूषा, रहनसहन र पहिचानको विविधताले सम्पन्न हाम्रो मुलुकमा हरेक जातजाति र धर्मका आ-आफ्नै मौलिक संस्कृति र पहिचान छन् ।’

नेपाल लगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीहरूले मनाउने बकर इद (ईद उल अजाह) चाडको पनि आफ्नो छुट्टै पहिचान, मौलिकता र विशिष्टता रहेको शुभकामना सन्देशमा उल्लेख छ ।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद ( ईद उल अजाह) पवित्र रमजान पर्वको ७० औ दिनमा मनाउने धार्मिक विधि छ ।उक्त दिन मुस्लिम धर्मावलम्बीहरूले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक रूपमा नमाज पढ्ने र नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदानप्रदान गर्दछन् ।

मुस्लिम समुदायमा आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सबै नेपाली बिच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको छ ।

शुभकामना सन्देशमा भनिएको छ ‘यो पर्वले आगामी दिनमा हामी सबै प्रदेशवासीहरुलाइ पनि आपसी सद्भाव र प्रेमका साथ सहकार्यको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् ।’