विराटनगर : अन्तर्राष्ट्रिय प्रतियोगितामा बहुसङ्ख्यक नेपालीले सहभागिता जनाउने गरेको सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगिता विराटनगरमा सुरु भएको छ।

प्रदेश खेलकुद विकास बोर्डको प्रायोजन र मोरङ जिल्ला सफ्ट टेनिस सङ्घको संयोजनमा खुल्ला राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु गरिएको हो। पाँच बिधामा गराईने प्रतियोगिताको पहिलो दिन बुधबार महिला एकल तर्फ ४ जना र पुरुष एकल तर्फ १५ जना प्रि क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेल पार गरेर प्रि क्वाटर फाइनलमा प्रवेश गर्ने महिलामा कोशी प्रदेशबाट श्रेया राई, बाग्मतीबाट जर्जिया चौधरी, लुम्बिनीबाट बिमला मन्थी र ऋषिका चौधरी छन् । वर्षाका कारण पहिलो दिनको महिलाको तीन वटा खेल रोकिएको छ । लुम्बिनीका रोशन केसी, र सुमन लामा, कोशीका आशिष बोहरा, र आभाष बुढाथोकी, सशस्त्रका राजेन्द्र श्रेष्ठ, भिमबहादुर मगर र सुमन लामा विजयी भएर प्रि क्वाटर फाइनलमा पुगेका छन् ।

वाई पाएर प्रि क्वाटर फाइनलमा कोशीका युकेश योन्जन, आशिष ढकाल, लुम्बिनीका सुरज चौधरी, सशस्त्रका कमल भण्डारी, बाग्मतीका प्रदीप खत्री, निर्मल स्थापित र ब्रीजेश पाण्डे पुगेका छन्। राष्ट्रिय विजेतालाई सिधै प्रि क्वाटर फाइनलमा लाने आयोजकको रणनीति भएपनि महिला तर्फबाट सशस्त्र प्रहरीकी समृद्धि महर्जन खेलमा सहभागी हुन सकिनन् ।

आयोजकले सात प्रदेश र तीन विभागीय टोलीलाई आमन्त्रण गरेपनि नेपाली सेना र प्रहरी तथा मधेस प्रदेश र कर्णाली प्रदेश सहभागी भएन । विराटनगरको सहिद रङ्गशाला र विराटनगर जुट मिल्स परिसरमा रहेको कोर्टमा प्रतियोगिता सञ्चालन हुंदैछ । प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्रीद्धय मुकेश श्री वास्तव र आनन्दप्रसाद श्रेष्ठ, राष्ट्रिय रेफ्रीहरु राजेश लामिछाने रेखा दुलाल, सन्तोष कर्माचार्य र धर्मपाल श्रेष्ठ निर्णायकको भूमिकामा छन्।

प्रतियोगिताको विभिन्न बिधामा प्रथम हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुने दुईलाई १०, १० हजार रुपैंया नगद पुरस्कार र मेडल राखिएको छ । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बिच गरेका थिए । प्रतियोगिता १६ गते समापन हुने बताइएको छ ।

soft tennis