इटहरी : नेपाली काँग्रेसको युवा भातृ सङ्गठन नेपाल तरुण दलको केन्द्रीय सदस्यमा सुनसरीबाट ५ जना सदस्य चयन भएका छन् ।

सभापति शेरबहादुर देउवाले विद्धान गुरुङ सभापति रहेको केन्द्रीय कार्यसमिति विस्तार गर्दै सुनसरीका पाँच र मोरङका दश जना गरी चार सय युवालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । सबैभन्दा बढी काठमाडौँबाट २८ जना परेका छन् ।

सुनसरीबाट मनोनीत हुनेहरूमा विशाल ध्वज कटुवाल, प्रेम मुकारुङ राई, अशोक मेहता, सुनिल शाह र देवेन्द्र लिम्बु छन् । मोरङबाट बिन्दिया कार्की, सचिन शाक्य, गोपाल खत्री, जय प्रकाश पासवान, भीमबहादुर थापा, लीला काफ्ले, विकाश शिवाकोटी, विष्णु भुर्तेल, निर्मल सुवेदी, शेखर विश्वास थारु, सन्तोष बस्नेत र सामन्त राजवंशी मनोनीत भएका छन् ।

६ महिना अगाडी गुरुङलाई पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सभापति चयन गरेका थिए । ९ वर्ष देखी महाधिवेशन गर्न नसकेको तरुण दललाई सक्रिय बनाउने जिम्मेवारी गुरुङले पाएका छन् ।

६ महिना भित्र महाधिवेशन गराउने जिम्मा पाएका गुरुङले पार्टीको भागबन्डा मिलाउन नसक्दा लामो समय कार्यसमिति चयन गर्न सकेनन् ।

पछिल्लो समय भातृ सङ्गठन निष्क्रिय भएको गुनासो बढेपछि तदर्थ समिति विस्तार गरेका हुन् । विस्तार भएको समितिले महाधिवेशन गराउने जिम्मेवारी पाएको छ । तर महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टीले आधिकारिक धारणा दिन सकेको छैन । तरुण दल मात्र हैन १० वर्ष देखी महाधिवेशन नभएको नेपाल महिला सङ्घले पनि भर्खरै केन्द्रीय समिति पूर्णता पाएको छ ।

नेपाल विद्यार्थी सङ्घको पनि महाधिवेशन नभएको ६ वर्ष पुरा भएको छ । दुजाङ शेर्पा सभापति रहेको नेविसंघको केन्द्रीय तदर्थ समिति समेत गठन हुन सकेको छैन ।