इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रक्रिया जारी छ । बिहीबार प्रदेशसभाको बैठकमा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा आज मत विभाजन हुँदैछ ।
बिहीबार राती ८ बजे तय भएको बैठक बस्न नसकेपछि आज ११ बजेको लागी बैठक सारिएको हो । आज मुख्यमन्त्री कार्कीले सांसदहरूको प्रश्नको जवाफ दिएपछि मत विभाजन हुनेछ ।
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत विभाजनले नयाँ सरकार तय गर्ने बताए । सरकार अल्पमतमा परेको बताउँदै उनले बहुमत नआए पनि मत विभाजनमा सहभागी हुने जानकारी दिए । राजीनामा दिने सम्भावना नरहेको प्रष्ट पार्दै भण्डारीले मत अनुसार सरकार बन्ने र गिर्ने तय हुने धारणा राखे ।
एमालेले एक जना सांसदलाई आफ्नो पक्षमा पार्न मेहनत गरिरहेको छ । एउटा मात्र सांसद भएको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरेको छ । मुख्यतः नामकरणको विषयमा कार्की नेतृत्वको सरकार सँग जसपा झस्किएको छ। मधेस प्रदेशमा जसपाको सरकारलाई एमालेले समर्थन गरेको छ । त्यही गुन तिर्नको लागि कोशी प्रदेशमा जसपा एमालेको पक्षमा आउने सम्भावना छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा ४० सांसद भएको एमाले र ६ सांसद भएको राप्रपा सरकारमा छन् । विपक्षी गठबन्धनसँग पनि जसपा सहित ४६ मत मात्रै छ ।
सरकारको विपक्षमा मतदान गर्दा पनि नयाँ सरकार बन्ने सम्भावना नदेखेको जसपाले एमाले नेतृत्वकै सरकारलाई सघाउन सक्ने आङ्कलन गरिएको छ । तथापि जसपाले आधिकारिक निर्णय गरिसकेको छैन ।