धरान : पुराना फुटबल खेलाडीहरूको हाम्रो धरान भेट्रान क्लबको शुक्रवार भएको प्रथम अधिवेशनले अशोककुमार राईलाई निर्विरोध अध्यक्ष गरेको छ।

भेडेटार स्थित सम्सरा रिसोर्टमा भएको अधिवेशनले राईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष राकेश राई, उपाध्यक्ष राजकुमार राई, सचिव उमेश जिमी, सह-सचिव राजकुमार मगर, कोषाध्यक्ष पदम राई चयन भएका छन् ।

सदस्यहरू लक्ष्मी याक्खा, विवश राना मगर, सन्तोष राई, हेम कुमार गुरुङ, तीर्थराज आले रहेका छन् ।

अधिवेशनका प्रमुख अतिथि धरान वडा १० का अध्यक्ष विवेक राईले धरान फुटबलको सहर भएकोले नयाँ पुस्ताका लागि क्लबले फुटबललाई प्रवर्धन गर्ने काम गर्नुपर्ने बताए । उनले भने ‘संस्था चलाउन निकै गाह्रो काम भएकोले धैर्यता र सहकार्य जुटाएर अघि बढ्न जरुरी हुन्छ ।’

भेट्रान क्लबले छोटो समयमा फुटबल सहित सामाजिक कार्यमा गरेको कार्यहरू उपलब्धि मूलक रहेको बताउँदै पूर्णकालीन नयाँ कार्यसमितिलाई बधाई शुभकामना व्यक्त गरे ।

सोही अवसरमा क्लबले आयोजना गरेको दुई वटा प्रतियोगिताको संयोजन गरेका क्लबका उपाध्यक्ष राकेश राई, हेमकुमार गुरुङ लाई सम्मानपत्र प्रदान गरियो ।

अधिवेशन कार्यक्रमको सभापतित्व अध्यक्ष अशोककुमार राईले गरेका थिए । स्वागत मन्तव्य सचिव योगेन राईले गरेका थिए ।