विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जीवनका लागि बहस चलाउन आवश्यक भएको बताएका छन् । शनिवार विराटनगर स्थित अतिथि सदनको स्वर्णजयन्ती समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन ।
आधा दर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरूको नगर विराटनगर कुनै बेला राजनीतिक आन्दोलन र उद्योगधन्दाको केन्द्र थियो, तर अहिले विराटनगरमा न त हिजोका जस्ता राजनीतिक नेतृत्व छ न त उद्योगधन्दा नै छन् । त्यसैले अहिले विराटनगर निदाएको जस्तो छ, सातो गएको बालक र रित्तिएको भाँडो जस्तो भएको छ'-मुख्यमन्त्री कार्कीले भने ।
विराटनगरलाई कसरी पुनर्जीवन दिन सकिन्छ, के गर्दा पुनः विराटनगर जुरमुराउँछ  भन्ने विषयमा विराटनगरको नेतृत्वले बहस चलाउन आवश्यक भएको उनको भनाइ थियो । प्रादेशिक राजधानी समेत रहेको विराटनगरको पुनर्जीवनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको समेत उनले बताए । 
विराटनगरको निर्माणमा मारवाडी समुदायले पुर्‍याएको योगदानको चर्चा गर्दै मारवाडी समुदायलाई बाहिरा पलायन हुन नदिन विराटनगरले योजना बनाउन आवश्यक भएको उनको सुझाव छ ।  
तीन वर्ष भित्र निर्माण सम्पन्न हुने गरी विराटनगर-१९ स्थित बैजनाथपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला  निर्माणको काम भइरहेको स्मरण गराउँदै उक्त रङ्गशालाको निर्माणले  विराटनगरलाई पुनर्जीवनमा सहयोग पुग्ने  बताए ।
उनले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमान स्थलको रूपमा विस्तार गर्न सकेमा विराटनगरको चहलपहल बढ्ने चर्चा गर्दै केपी ओली नेतृत्वको सरकारले सुरु गरेको उक्त कार्यलाई पुनः निरन्तरता दिन आवश्यक भएको औँल्याए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विगतमा औद्योगिक र राजनीतिज्ञहरूको नगरीको रूपमा परिचित विराटनगरले पुरानो आफ्नो परिचय गुमाउँदै गएकाले अब कस्तो विराटनगर बनाउने भनेर सोच्नुपर्ने बेला भएको बताए  । 
सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय अध्यक्ष पवन मित्तल, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, सदनका पूर्व अध्यक्ष ताराचन्द खेतान लगायतका व्यक्तिहरूले विराटनगर अतिथि सदन निर्माणका बारेमा बोलेका थिए ।