धरान : देशको समृद्धिका लागि महिलाहरू उद्यमी हुन आवश्यक रहेको कोशी प्रदेशसभा सदस्य माननीय यशोदा कायस्थले बताए।
सिद्धि नेवाः परिषद् धरानले आयोजना गरेको सात दिने वरमाला, नरिवल सुपारी सजाउने तालिमको समापनको क्रममा सभासद् कायस्थले तालिम लिनुमात्र ठुलो कुरा होइन तालिममा सिकेको सीपलाई उपयोग गरेर आय आर्जन गरी उद्यमशील बन्न आग्रह गरिन्।
धरान-७ स्थित सिद्धि नेवाः परिषद् असार १० गतेदेखि ७ दिन सम्म सञ्चालन भएको  तालिममा धरानका विभिन्न वडाका १८ जना महिलाहरू सहभागी  भएका थिए।
धरानका महिलाहरूलाई सशक्तीकरण गर्न र सीप विकास गरी स्वरोजगार बनाउँदै व्यवसाय मुखी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सिद्धि नेवाः परिषद्का अध्यक्ष राज विमल श्रेष्ठले बताए।
प्रदेश सरकारबाट युवा महिलाहरूको सशक्तीकरण र सीप विकास कार्यक्रम अन्तरगत धरान उपमहानगरपालिकालाई हस्तान्तरित बजेटबाट कार्यक्रम सञ्चालन भएको हो।
धरान उपमहानगरपालिकाको ५० हजारको बजेट कार्यक्रम संचालन भएको परिषद्का महासचिव मोहन श्रेष्ठले बताए।
प्रशिक्षक जुली ताम्राकारले विवाह कार्यक्रममा नभई नहुने वरमाला, नरिवल सुपारी सजाउने सीप सिक्न सके यसबाट राम्रो आम्दानी गर्न सकिने, घरको काम भ्याएर पनि मासिक २५ हजार सजिलै कमाउन सकिने बताए।
कार्यक्रममा सहभागीहरूलाई प्रयोगात्मक रूपमा विभिन्न किसिमको वरमाला नै तयार गर्न लगाइएको थियो।
तालिम अवधिमा वरमाला, नरिवल सुपारी सजाउने काम गरेकाले तालिम उपलब्धिमूलक भएको आर्थिक समिति संयोजक विनिता वज्रचार्यले प्रतिक्रिया दिए। 
कार्यक्रम धरान उपमहानगरपालिकाबाट अनुगमन र विभिन्न संघ संस्थाका पदाधिकारीहरूबाट अवलोकन भइरहेको छ।
mahila lai swarojgaarmahila lai swarojgaar 2