धरान : धराने कालो बङ्गुर मात्र होइन हिजोआज धराने राँगाको मासुको सुकुटी देश विदेशमा प्रसिद्ध बनेको छ । फास्ट फुडको चलनले सुकुटीको तैयारी अचारले बजार पाउन थालेको छ ।

कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थ भन्छिन् ‘धरानका महिलाहरूले घरमै बसेर सुकुटीको अचार बनाउन थाले महिनाको २५ हजार रुपैयाँ सम्म कमाउन सक्छन् ।’

धरानको आफ्नो घरेलु ब्राण्डिङ गर्न सकिने उद्यम मध्ये एउटा, सुकुटीको अचारले महिलाहरूलाई रोजगार, उद्यमी बनाउने उनको भनाई छ । सांसद कायस्थकै पहलमा भएको दुई दिने सुकुटीको अचार बनाउने तालिम समापनमा सोमवार उनले भनिन् ‘महिलाहरूको हातमा सिप र जाँगर भए श्रीमानको कमाइमा निर्भर रहनु पर्दैन ।’

उनले प्रदेश सरकारबाट महिलाहरूलाई स्वरोजगार, उद्यमी बनाउन सिपमूलक तालिमहरूका लागि साढे ७ लाख रुपैयाँ धरानका लागि ल्याएकी छन् । त्यस बजेट मध्ये ५० हजार रुपैयाँ खर्चमा सुकुटी बनाउने ७ दिने तालिम सञ्चालन गरिएको हो ।

तालिमको आयोजन नेवा: देय दबु धरानले गरेको हो । तालिममा २९ जना गृहिणी महिलाहरू सहभागी रहेको, सहजीकरण सृजना शाक्यले गरेकी दबुका सचिव दीपेन्द्र श्रेष्ठले बताए ।

समापनमा दवू धरानका अध्यक्ष मनोहर शाक्यले सुकुटीको अचार नेवार समुदायको मौलिक परम्परागत परिकार भएको बताउँदै पछिल्लो समय यो सबैले रुचाएकोले व्यवसायीक बनेको उल्लेख गरे ।

जिल्ला अध्यक्ष वसन्त कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अमृत श्रेष्ठ, सामाजिक विकास समितिकी संयोजक सृजना नेपालले तालिम उपलब्धिमुलक रहेको बताए ।

sukuti-ko-achar-talim