धरान : नेपाल परिवार नियोजन सङ्घ सुनसरी जिल्ला शाखाको सभापति पदमा तीन जना उम्मेदवारले आज उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । जिल्ला समितिको शनिवार हुने चुनावको लागि आज उम्मेदवारी दर्ता भएको हो ।

सभापति पदमा उम्मेदवारी दर्ता गर्नेहरूमा अलिम अन्सारी शत्रुघन, सन्तोष सापकोटा र निर्मला अधिकारी छन् । एघार सदस्यीय कार्यसमितिका लागि हुने निर्वाचनमा तीन जना युवा सदस्य पदमा एक जनाको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक विष्णु बरालले जानकारी दिए ।

कोषाध्यक्ष सहित कार्यसमितिको आरक्षित विज्ञ सदस्य पदहरू मध्ये महिलामा तीन जना र अपाङ्गमा दुई जना सदस्यको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा सागर प्रसाईँको मात्र उम्मेदवारी परेको छ। कार्यसमितिको आरक्षित सदस्य पदहरू कानुन सदस्यमा विनोद सुवेदी र यौन प्रजननमा कला थापाको मात्र उम्मेदवारी परेको छ ।

अर्थमा प्रशिका निरौला र युवा सदस्यमा एक मात्र उम्मेदवारी संस्कृति मास्केको परेको छ । सङ्घको संशोधित विधानमा उपाध्यक्ष र सचिव पद हटाइएको छ ।

अध्यक्ष सहित कार्यसमितिको ३ पदमा निर्वाचन हुने भएको छ । निर्वाचन समितिले भोली शुक्रवार उम्मेदवारी मनोनयन पत्र फिर्ता लिने मिति तोकेको छ। उक्त प्रक्रियापछि अन्तिममा उम्मेदवारीको नामावली सहित निर्विरोध प्रत्याशीहरूको नाम घोषणा गरिने बरालले बताए ।

सङ्घको संशोधित विधान अनुसार शाखाको चुनावमा उम्मेदवारी दिन चाहनेले यसअघि नै कार्यसमितिबाट उम्मेदवार हुन योग्य भएको प्रमाण पत्र प्राप्त गर्नु नियम बनाइएको छ ।

आज उम्मेदवारी दिएका प्रत्याशीहरूले असार १८ गते भएको साधारण सभामा उम्मेदवारी योग्यताका लागि निवेदन दिएको वर्तमान सभापति महेश मोहन पालिखेले बताए । उक्त प्रमाणपत्रको प्रावधानका कारण उम्मेदवारहरूले दरखास्तमा प्रस्तावक र समर्थकको हस्ताक्षर गराउनु परेको थिएन ।

सङ्घको सुनसरी शाखामा मतदान गर्ने आजीवन तथा साधारण कुल ८२४ सदस्यहरूमा नेपाली काँग्रेस कार्यकर्ताको बाहुल्यता छ ।

उम्मेदवारी दाखिलाको माहौलले यसपालिको चुनाव काङ्ग्रेसकै दुई समूह बिचको प्रतिस्पर्धा हुने देखिएको छ । कोषाध्यक्षमा निर्विरोध भएका सागर प्रसाईँ हालै काँग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा नजिकिएका युवा हुन ।

अघिल्ला चुनावहरू पनि काँग्रेस कार्यकर्ताकै दुई समूह बिच प्रतिस्पर्धा हुँदै आएको सङ्घमा यसपालि कुन समूहको जीत हुन्छ त्यो हेर्न बाँकी छ ।

family-plan