इटहरी : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गर्ने भएका छन् । बिहीबार दिउँसो काठमाण्डौंबाट विराटनगर अवतरण भए पश्चात् थापाले ५ बजेभित्र दाबी पेश गर्ने भएका हुन् ।

थापाको दाबी सँगै नेपाली काँग्रेसले पहिलो पटक कोशी प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ । यसअघि ४ पटक सरकार परिवर्तन हुँदा समेत काँग्रेसले नेतृत्व गर्ने अवसर पाएन । गठबन्धनका दलहरूको संयुक्त बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।

थापाले काँग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुख सहित), नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ जना सहित ४७ सांसदको समर्थन सहित प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने भएका छन् । नेकपा एमालेले भने सभामुख सहितको दाबी पेस गर्नु गलत भएको बताउँदै आएको छ । सभामुखलाई समेटेर दाबी पेस गरे अदालत जाने एमालेले चेतावनी दिएको छ ।

उता एमाले नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले भने अझैसम्म थापा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्न सकेको छैन । साँझ ५ बजे सम्म दाबी गर्ने समय रहेपनि राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौला भने काठमाण्डौंबाट गाडीमा फर्किरहेका छन् । आज अन्तिम म्याद रहेकाले सिटौलाले थापाको पक्षमा हस्ताक्षर नगर्ने सङ्केत गरेका छन् ।

राप्रपाका ६ सांसदको समर्थन पाए थापाले सहजै विश्वासको मत पाउने देखिन्छ। सिटौलाले पनि समर्थन गर्ने वा नगर्ने बारे ठोस निर्णय नभइसकेको प्रतिक्रिया दिएका छन् । काँग्रेसमा रहँदा थापासँगको तिक्तताको प्रसङ्गमा उनले यो व्यक्तिगत भन्दा पनि राजनीतिक विषय भएको र सोही अनुसार अगाडि बढ्ने बताए ।