धरान : धरान स्थित एन्फा एकेडेमीमा ४ वर्षे प्रशिक्षण पुरा गरेका ९ जना अण्डर-१७ का खेलाडीहरू यसपालिको एसइई परीक्षामा उत्कृष्ट श्रेणिमा उत्तीर्ण भएका छन् ।

एकेडेमी इन्चार्ज गोपाल कार्कीका अनुसार यसपालि ९ जनाले एसइई परीक्षाका दिएका थिए । त्यस मध्ये ७ जना ए प्लस र २ जना बी प्लस श्रेणीमा उत्तीर्ण भएका छन् । उत्तीर्ण खेलाडीहरू धरान-१८ स्थित माउण्ट हर्मन स्कुलका विद्यार्थी हुन् ।

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले एकेडेमीमा खेलाडीहरूसँग सामूहिक भेटघाट गर्दै परीक्षामा उत्तीर्ण भएको खुसीयालीमा बधाई दिएका छन् ।

२०७६ जेठ देखी ४ वर्षका लागि एकेडेमीमा अनुबन्धित भएका कुल २७ जना अण्डर-१७ का खेलाडीहरू सबैले एसइई उत्तीर्ण गरिसकेका छन् ।प्रशिक्षणको क्रममा पहिलो पटक २०७८ सालमा ३ जनाले ए प्लसमा एसइई उत्तीर्ण गरेका थिए । दोस्रो पटक २०७९ मा १५ जनाले एसइई परीक्षा दिएका थिए ।

उक्त परीक्षामा ४ जना ए प्लस, ७ जना ए र ४ जना बी प्लस श्रेणीमा उत्तीर्ण भएको इन्चार्ज कार्कीले बताए । उनीहरूको ४ वर्षे प्रशिक्षण सकिएपछि अहिले उनीहरू अण्डर-१७ का खेलाडीको रूपमा काठमाण्डूका क्लबहरूबाट फुटबल खेल्दैछन् ।

धरान स्थित एकेडेमीका उनीहरू मध्ये ७ जना श्रीलङ्कामा भएको अण्डर-१७ एसियाली प्रतियोगितामा सहभागी हुन पाएका थिए । त्यस मध्ये ४ जनाले श्रीलंकन फुटबल मैदानमा उत्रिने अवसर पाएका थिए ।