इटहरी : प्रेस युनियन सुनसरीले आयोजना गरेको फुटसल प्रतियोगिता-२०८० मा इटहरी जेसीज टिम विजयी भएको छ ।

इटहरीको एसडी फुटसलमा आयोजित प्रतियोगितामा प्रेस सेन्टर सुनसरी टिमलाई ४ का विरुद्ध ८ गोलले पराजित गर्दै जेसीजले उपाधि हात पारेको हो।

फाइनल खेलमा जेसीजका गौरव भण्डारीले ७ र प्रज्वल बस्नेतले १ गोल गरे । सम्पूर्ण प्रतियोगितामा भण्डारीले मात्र १२ गोल गर्न सफल भए ।

६ टिमको सहभागिता रहेको खेलमा आयोजक प्रेस युनियन प्रेस सेन्टर सँग पराजित भएको थियो । प्रतियोगितामा विजयी इटहरी जेसीजले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

उपविजेता प्रेस सेन्टरले ५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

'राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद' भन्ने नारा सहित प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । विभिन्न सामाजिक संस्थाहरू सँग भाइचारा अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम गरिएको युनियन जिल्ला अध्यक्ष ध्रुव ढकालले बताए ।

प्रमुख अतिथि जीना कार्कीले खेलकुद क्षेत्रको प्रवर्द्धनमा पत्रकारको भूमिका अझै धेरै आवश्यक पर्दै गएको बताइन् । खेलकुदमा पत्रकारको रुचिले समग्र खेल क्षेत्रको विकासमा योगदान पुग्ने उनको भनाइ छ ।

itahari-footsal-JCI-2press-union-footsal