• रोहित कुलुङ राई

धरान : वृक्षारोपणलाई आम्दानी मूलक बनाउन धरान-१५ स्थित धार्मिक वनमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दै कफीको बिरुवा रोपिएका छन् ।

किरात राई यायोक्खा वडा समितिले गएको ३ वर्ष अघि देखी वनमा कफी खेती गर्दै आएको छ ।

कफीको नयाँ वृक्षारोपण सँगै पहिलेका बोटहरूको गोडमेल पनि गरिएको हो । यसअघि रोपिएका १३ सय कफीको बोटमा अहिले कफी फल्न थालेको र अब फलेका कफी ६ महिना पछि टिप्न मिल्ने सचिव प्रेम राईले बताए ।

वृक्षारोपणमा यायोख्खा कार्यसमितिका साथै वडावासी सहित ६० जना भन्दा बढिले श्रमदान गर्दै बिरुवा रोपेका हुन् । यायोख्खा उपाध्यक्ष डाकमान राईका अनुसार बर्सेनि बनमा श्रमदानबाट वृक्षारोपण र गोडमेल गरिँदै आएको छ ।

यायोख्खाले धार्मिक वनमा ३ वर्ष देखि संस्थाको आयस्रोत स्वरूप पूर्व सांसद किरण कुमार राई र कफी खेती विज्ञ अञ्जना राईको प्राविधिक सहयोगमा कफी खेती सुरु गरेको हो ।

उत्पादित कफी खरिद गरिदिने र प्राविधिक सहयोग प्रदान गर्ने सहमतिमा कफी खेती गरिएको अध्यक्ष मालती राईले बताइन् । यायोख्खा भवन नजिक रहेको धार्मिक बनमा हरेक वर्ष उँधौली र उभौलीमा प्रकृति पूजा भूमे पूजा र साकेला नाचको आयोजना गरिन्छ ।

यायोख्खाले रेखदेख गर्दै आएको धार्मिक वनको क्षेत्रफल दुई हेक्टर छ ।

coffee-plantatnion-1