धरान : बौद्धिक अपाङ्गता भएका बालबालिकाको हितका लागि काम गर्न अभिभावकहरू बौद्धिक अभिभावक सङ्घमा एकजुट भएका छन् ।

२०६७ सालमा पहिलो पटक धरानमा सङ्घको सुनसरी शाखा गठन भएको थियो । सङ्घ गठन भए पनि निष्क्रिय रहँदै आएकाले यसपालि अभिभावकहरू सङ्गठित भई नयाँ कार्य समिति गठन गरेका हुन् ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूका अभिभावकहरूको सोमवार आयोजित भेलाले सन्तना श्रेष्ठ शाक्य अध्यक्ष रहेकी ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष शम्भु कटुवाल, सचिव अस्मिता सुवेदी, कोषाध्यक्ष दिपा भट्टराई रहेका छन् । सदस्यहरूमा बिनादेवी चाम्लिङ, निमा शेर्पा, सावित्री श्रेष्ठ, कविता तामाङ, सन्तोष कुमार सुवेदी छन् । सहसचिव र एक सदस्य पछि मनोनयन गरिने बताइएको छ ।

अभिभावकहरूको भेला सङ्घका केन्द्रीय अध्यक्ष राजु बस्नेतको समन्वय र उपस्थितिमा भएको हो । उनले बौद्धिक रूपमा कमजोर र फरक क्षमता भएका बालबालिकाको स्याहार सुसार, क्षमता विकासमा सङ्घले भूमिका खेल्नु पर्ने बताए ।

सङ्घको कार्य चुनौतीपूर्ण रहेको बताउँदै बस्नेतले नयाँ समितिले स्थानीय सरकार सँग समन्वय गरी अगाडि बढ्न सुझाव दिए ।

बौद्धिक अपाङ्गताको क्षेत्रमा लामो समय देखी योगदान गर्दै आएका दीपेन्द्र श्रेष्ठ कसजु, सुस्त मनस्थिति बाल कल्याण विद्यालयकी प्रधानाध्यापिका आरती थापा भेलामा उपस्थित थिए ।

balbalika-apanga-news