झापा : दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको संयोजनमा दमकका ४२४ जना नागरिकको आँखाको निःशुल्क परीक्षण गरिएको छ ।
झापाको गौरिगञ्जमा भारत कलकत्ताका नेत्र विशेषज्ञहरूबाट आँखाको परीक्षण गरिएको थियो भने दमकका पाथीभरा नेत्रालय र मेची नेत्रालयमा समेत परीक्षण गरिएको हो ।
यही असार २३, २४ र २५ गते तिन दिन सञ्चालन गरिएको शिविरमा ४२४ नागरिकको आँखाको निःशुल्क परीक्षण गर्नुका साथै चस्मा र औषधि समेत निःशुल्क वितरण गरिएको हो।
उपप्रमुखको अगुवाइमा गौरिगञ्जमा १२० जना सहित दमकको पाथीभरा नेत्रालयमा १०४ जना र मेची नेत्रालयमा २०० जनाको परीक्षण गरिएको दमक नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख सावित्री भण्डारीले जानकारी दिइन ।
आँखाको समस्या भएकाहरूलाई औषधि तथा चस्मा समेत निःशुल्क वितरण गरिएको थियो । १५८ जनालाई औषधि र २६० जनालाई चस्मा वितरण गरिएको भण्डारीले बताइन ।
१० जनाको मोतिया विन्दु देखिएकोले अप्रेसन गर्नु पर्ने देखिएको दमक नगर उपप्रमुख भट्टराईले बताइन ।
उनीहरूलाई पनि अस्पताल सँग समन्वय गरी उपचारको व्यवस्था मिलाइने उनले जानकारी दिइन । नागरिक स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै नगर उप प्रमुख भट्टराईले यस्ता स्वास्थ्य शिविरहरू समय समयमा सञ्चालन गरिरहने बताइन ।
आगामी दिनमा पनि नगरका गाउँ गाउँमा विशेषज्ञ चिकित्सक सहितका शिविर सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिइन ।