इटहरी : इटहरीको पुरानो मध्येको एक सेकेण्डरी बोर्डिङ स्कुलको होस्टेलमा सोमबार बिहान एक विद्यार्थी मृत फेला परे । मोरङको बेलबारी स्थायी घर भएका १४ वर्षीय जेनिश श्रेष्ठको मृत्यु पछि इटहरी उपमहानगरपालिकाले होस्टेल बन्द गराएको छ ।  
कक्षा ८ मा अध्ययनरत विद्यार्थी श्रेष्ठ बिहान लडिरहेको देखेपछि होस्टेल सञ्चालकले प्रहरीलाई खबर गरेको थिए । होस्टेलको दूषित वातावरण र खानपानको कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले मृत्युको कारण के हो भन्ने यकिन पत्ता लगाउन सकेको छैन । राती खाना खाएर साथीहरूसँगै सुतेका उनी राती पिसाब फेर्न उठेको, त्यसपछि फर्किएर सुतेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जानकारी दिएको छ ।  
मुखबाट फिँज आएको र शरीर निलो भएको देखिए पनि स्पष्ट कारण खुल्न सकेको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
होस्टेलले न्यूनतम मापदण्ड समेत पुरा नगरेको भन्दै उपमहानगरपालिकाले बन्द गराएको छ । शिक्षा निर्देशिकामा उल्लेख भए अनुसार होस्टेलको न्यूनतम मापदण्ड पुरा नभएको मेयर हेमकर्ण पौडेलले बताएका छन् । बोर्डिङ स्कुलको विषयमा थप निवेदन परेको कारण अनुसन्धान अगाडी बढाइने उनले बताए । विना अनुमति सञ्चालनमा रहेको होस्टेलको थप अनुसन्धान गरिने उनले जानकारी दिए ।
आजै मेयर पौडेलले पिसजोन आवासीय माध्यमिक विद्यालय, ग्रिन पिस एकेडेमी, मोडन प्रिपेटरी, सहिद स्मृति आवासीय माविमा अनुगमन गरेका छन् ।