धरान : धरान उपमहानगरका डाँडा काँडा, गाउँ सहरको ३८ किलोमिटर दुरी तय गरिने ‘कोरा राइड च्यालेज २०८०’ साइक्लिङ प्रतियोगिता हुँदैछ ।

प्रतियोगिता कोरा धरान २०२३ समितिको आयोजनामा हुन लागेको हो । मंगलबार पत्रकार सम्मेलनमा च्यालेञ्ज असार ३० गते शनिवार हुने आयोजक समितिका संयोजक विनय लाल श्रेष्ठले बताए ।

प्रतियोगिताको रुट धरान-१८ बौद्ध गुम्बा देखी सुरु भई बिपी प्रतिष्ठानबाट जानकी चौक, विजयपुर नीराजन वस्ति, देवीगाउँ, निशाने डाँडा, सोमटार, साउने देउराली महादेव चोक, श्याम चौक, वरगाछी धनकुटे रोड हुँदै बिपी प्रतिष्ठान आइपुग्ने बताइएको छ ।

समापन शुरु र अन्तिम विन्दु बौद्ध गुम्बामा हुनेछ । प्रतियोगितामा धरान सहित बिराटचोक, सुन्दर हरैचा, इटहरी, तरहरा, विराटनगर, काठमाण्डु ललितपुरका २०० साइक्लिस्टहरु सहभागी हुने संयोजक श्रेष्ठले बताए ।

उनले भने ‘प्रतियोगिताको मुलनारा ‘ज्येष्ठ नागरिकका लागी साइकल यात्रा, एक दिन हामी पनि बुढो हुनेछौ’ भन्ने रहेको छ । श्रेष्ठका अनुसार धरानमा गएको ६ वर्ष देखि सामाजिक सेवामा कोरा साईक्लिङ्ग (राईड) च्यालेन्ज सञ्चालन हुँदै आएको छ ।

साइक्लिस्टहरूको महापर्व १५ जुलाईमा संसारभरिका साइक्लिस्टहरूले विभिन्न सामाजिक कार्य गर्दै कार्यक्रमहरू आयोजना भइरहेको उनले बताए ।

प्रतियोगिताबाट सङ्कलित रकम धरानका वृद्धाश्रमलाई सहयोग गरिने साथै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको बृद्धबृद्धाका लागि अस्पताल बनाउने योजनालाई पनि सहयोग गरिने बताइएको छ ।

प्रतियोगितामा  सहभागी हुन अनलाइन फारम साथै फिजिकल फारम शुल्क अनिवार्य १०० रुपैयाँ र स्वैच्छिक डोनेसन रकम प्रदान गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा सहभागीहरूको जीवन बिमा गरिने, टिशर्ट, मेडल, सर्टिफिकेट, बिहानको खाजा र खाना प्रदान गरिने बताइएको छ ।