धरान : आज साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति। आजदेखि श्रावण महिना प्रारम्भ भएको छ । आज श्रावण महिनाको पहिलो सोमबार परेकाले बिहानैदेखि धरानको पिण्डेश्वर मन्दिरमा बोलबम दर्शनार्थीहरूको घुइँचो रहेको छ। आज लिम्बूहरूले लिम्बूहरूको मौलिक पर्व 'सिःसेक्पा तङनाम'अर्थात् साउने सङ्क्रान्ति पनि भव्य रूपमा मनाइँदै छ । आजको दिन धार्मिक मान्यताअनुसार सायमकालमा घरघरमा लुतोको पूजा गरी आठै दिशामा लुतो फाल्ने चलन पनि रहेको छ।

श्रावण महिनाभरी नै सप्तकोशी नदीको पानी ल्याएर  पिण्डेश्वर मन्दिरमा चढाउने चलन छ । समुद्र सतहदेखि १५६० फुट उचाइमा रहेको पिण्डेश्वर वैदिक सनातन धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हो ।

श्रावण महिना : धार्मिक महत्त्व 

धार्मिक रूपमा यस महिनालाई भगवान् शिवजीको प्रिय महिना पनि मानिन्छ । श्रावण  महिनालाई पवित्र महिनाका रूपमा मानिने र धेरैले यस  महिना भरी  सात्त्विक शुद्ध खाना खाने तथा सोमबार व्रत बस्ने गर्दछन् । यसैगरी श्रावण महिना हरियालीको महिना पनि हो । हरियाली सबैलाई मन पर्ने र स्वास्थ्यका लागि पनि फाइदाजनक छ । साउन महिनाबाट  नेपाली चाडपर्वहरूको सुरुवात हुने गर्दछ।

सती देवीले दोस्रो जन्ममा हिमालय पर्वतमा रानी मेनकाको गर्भबाट पार्वतीका रूपमा जन्म लिनु भयो र देवी पार्वतीले बाल्य अवस्था देखि नै यसै पवित्र श्रावण महिनामा श्रद्धा एवं भक्तिले निराहार रही कठोर तपस्या गरेर आशुतोष भगवान् शिवजीलाई खुसीपारी विवाह गर्नु भयो र पुनर्मिलन हुनुभएको थियो।  यसै कारणले शिवजीलाई यो श्रावण महिना अविस्मरणीय र  अति प्रिय हुन गएको पौराणिक मान्यता  रहेको छ ।

आफू अविवाहित भए असल श्रीमान् पाउने उद्देश्यले साउनभरी भगवान् शिवजीको पूजा आराधना गरी व्रत बस्ने गर्छन् भने विवाहितहरूले सौभाग्य, श्रीमानको दीर्घायु, घरपरिवारको सुख, शान्ति, ऐश्वर्य, प्रेम र सुस्वास्थ्यको कामनाले भोले बाबाको उपासना गर्ने गरिन्छ । यसका साथै विद्यार्थी, व्यापारी, प्रतिष्ठित व्यक्ति, प्रेमी जोडी, किसानी एवं जागिरेहरूको लागि श्रावण मासमा शिवजीको व्रत,जप,तप,रुद्री,पाठ,अभिषेक एवं पूजा गर्नाले मनकामना पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।

साउन महिनामा चारैतिरको प्राकृतिक वातावरण एवम् बोटबिरुवा पनि हरियो हुने भएकाले प्रकृति जस्तै हरियो भएर हिँड्नाले भोले बाबा खुसी हुने वैदिक सनातननीहरुको  धारणा रहेको छ ।

श्रावण सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिन दक्षिणायन समेत भनिन्छ ।  आज बाट सूर्य मिथुन राशिबाट कर्कट राशि प्रवेश गर्दछन् । त्यसैले कर्कट संक्रान्तिलाई श्रावण सङ्क्रान्ति या साउने सङ्क्रान्ति पनि भनिएको हो ।

यस वर्ष श्रावण महिनामा अधिकमास (मलमास) परेको छ। गुरु पूर्णिमाको एक महिनामा आउने जनै पूर्णिमा यो वर्ष दुई महिनामा पर्नेछ। यसले सोमबारको व्रत पनि लम्बिएको छ । शुद्ध श्रावण कृष्ण पक्षमा असार २५ र साउन १ गते तथा शुद्ध श्रावण शुक्ल पक्षमा भदौ ४ र ११ गते सोमबार परेको छ। श्रावण महिनामा १, ८, १५, २२ र २९ गते सोमबार परेको छ। चन्द्रमानलाई आधार मानेर व्रत बस्नेले असार २५  देखि भदौ ११ गतेसम्म आठ वटा सोमबारको बस्नुपर्ने भएको छ।

यस पटक साउन महिना ५८ दिनसम्म रहनेछ। यो अवस्थामा ८ सोमबार र ४ प्रदोष व्रत श्रावण महिनामा परेका छन् ।  श्रावणको अन्तिम सोमबार व्रत र प्रदोषको दुर्लभ संयोग पनि जुरेको छ । श्रावण महिनामा शिवको पूजा गर्नु धेरै शुभ मानिन्छ किनभने भोलेनाथ श्रावणमा छिट्टै प्रसन्न हुन्छन् भन्ने मान्यता छ। त्यसैले यो महिना सबै प्रकारका मनोकामना पूरा हुने विश्वास गरिन्छ।

"सिःसेक्पा तङनाम"

"सिःसेक्पा तङनाम" लिम्बूहरूको संस्कृत पर्व हो । "सिःसेक्पा तङनाम" अर्थात् साउने सङ्क्रान्तिको  किम्बदन्ती अनुसार  प्राचिनकालमा मागोङ वंशी राजा माङहाङले सिनयुक मुलुकमा शासन गरेको समयमा एकपल्ट भयङकर अनिकाल परेर मानिसहरू भोक भोकै मर्न थाले! त्यस विपत्तिबाट प्रजाहरूलाई बचाउनको लागी राजाले भगवान् सँग प्रार्थना गरे! परमेश्वर प्रसन्न भई सपनामा, तिमि बारिमा गएर हेर्नु अन्न पाकिराखेको देख्यौ भने खानु भनी भन्नु भयो । 

बिहानै उठेर बारीमा हेर्दा भटमास उम्रेर पाकिराखेको देख्दा सपनामा देखेको कुरा साँचो हुँदो रहेछ भनी सारै खुशीभइ सबै प्रजाहरूलाई बोलाइ आफूले सपनामा देखेको कुरा सुनाइसकेपछि अब तिमिहरू पाकेको भटमास ल्याइ खानु, पछिको लागि बिउ राख्नु, परमात्माको कृपाले गर्दा अन्नप्राप्त भएकोले परमात्मालाई कहिले बिर्सनु हुन्न।

बोडी भटमास पाकेपछि प्रत्येक साउन महिनामा भगवानलाई चढाई चाडपर्वको रूपमा मानिरहनुपर्छ भनी प्रजाहरूलाई आज्ञा दिनु भयो । त्यसै कारण श्रावणको सक्रान्तीलाई चाड्को रूपमा मान्ने गरिएको भन्ने आख्यान रहेको छ ।