इटहरी : इटहरीको बजार अनुगमनमा बासी र सडेगलेको मिठाई मासु बिक्री वितरण गर्ने गरेको भेटिएको छ । बासी मासु बिक्री गने एक पसलमा उपमहानगरले ताला लगाएको छ ।

आज (सोमबार) इटहरी उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा मिठाई पसल तथा मासु पसलहरूको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा बिक्रीका लागि राखिएको मासु दुई तिन दिन देखी राखेको र गलेको अवस्थामा भेटिएको थियो । बिपी चौक स्थित बत्सु मिट सेन्टरले बासी र गलेको मासु बिक्रीका लागि राखिएको थियो । खान अयोग्य भेटिएपछि उपमहानगरले सो पसलमा ताला लगाई दिएको छ ।

यस्तै इटहरीका केही मिठाई पसलमा अखाद्य वस्तु भेटिएको छ । बिक्रीका लागि राखेका मिठाई तथा अन्य खाद्यवस्तुमा झिँगा भन्किएको, किरा परेको भेटिएको थियो । इटहरीको मुख्य बजारमै सञ्चालनमा रहेको नटराज मिठाई पसलमा म्याद गुज्रिएका खानेकुरा भेटिएको थियो ।

मेयर हेमकर्ण पौडेल सहित पुगेको अनुगमन टोलीले सामानको म्याद हेर्न थालेपछि पसलका सञ्चालकले हतार हतार म्याद गुज्रिएको सामान मिल्काएका थिए । मेयर पौडेलकै अगाडी म्याद गुज्रिएको सामान फालेका सञ्चालकले पछि माफी मागेका थिए । उनको पसल माथि कानुनी कारबाही अगाडि बढाइने जनाइएको छ।

अनुगमन टोलीले इटहरीका विष्णु मिष्टान्न भण्डार, नटराज मिठाई पसल, हिरा होटेल, सगुन स्विट्स, बालाजी मिठाई पसल लगायतका मिठाई पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश मिठाई पसलमा भान्छा सफा नभएको, म्याद गुज्रिएका खाद्यान्न विक्रीका लागि राखिएको, सरसफाइ राम्रोसँग नभएको जस्ता कैफियत भेटिएको थियो ।

बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिँगा र कीरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएपछि ती नष्ट गरी कानुनी कारबाही अगाडि बढाइएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

बजार अनुगमन चाडपर्व केन्द्रित मात्र हुने गरेको गुनासो बढेपछि अनुगमनलाई नियमित रूपमा निरन्तरता दिएको नगरप्रमुख पौडेलले बताएका छन् ।