झापा : झापाको कनकाईमा पानी बोकेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका-१ निवासी अन्दाजी ३० वर्षीय कुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-१ स्थित दुर्गापुरमा बिहीबार बिहान ७ः१० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र-१-०१-०० १च ७४०७ नम्बरको छोटा हात्ती गाडी र विपरीत दिशाबाट जाँदै गरेको प्र-१-०१-०१६ प ५०९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दर्जीलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरिदिएको डिएसपी रिजालले बताए ।

दुवै सवारीसाधनसहित गाडी चालक कनकाई नगरपालिका-४ निवासी ३३ वर्षीय पशुपति ओलीलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ ।