इटहरी : सङ्घीय सांसद अशोक चौधरीले शैक्षिक सुधारका लागि विद्यमान कानुनहरूमा सुधार जरुरी भएको बताउँदै बिजनेस नपाउँदा सोचे अनुसार कानुन बनाउन नसकिएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चौधरीले धेरै कानुन बनाई सक्नुपर्ने भए पनि सरकारले बिजनेस दिन नसकी रहेको बताएका हुन् ।

इटहरी वडा-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयद्वारा बिहीबार आयोजित स्वागत कार्यक्रममा शैक्षिक सुधारको प्रसङ्गमा उनले भने ‘लामो समयदेखि रहेका ऐनलाई परिमार्जन गर्नुपर्ने र नयाँ कानुन बनाउनुपर्ने कुरामा सरकारलाई हामीले घचघच्याई रहेका छौ ।’

राष्ट्रिय माध्यमिक विद्यालयले शिक्षाको सुधारसँगै गुणस्तर अभिवृद्धिमा गरेको प्रगतिको सांसद चौधरीले प्रशंसा गरे । उनले आफूले विद्यालयको हितका निम्ति सक्दो सहयोग गर्ने वचन पनि दिए ।

कार्यक्रममा इटहरी वडा १ का वडाध्यक्ष कैलाश कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी वडाका अध्यक्ष निश्चल पोखरेल, विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष चित्र बहादुर कार्की लगायतले बोलेका थिए । विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतले विद्यालयको समग्र अवस्थाबारे जानकारी गराएका थिए ।