वराहक्षेत्र : नगरपालिकालाई सुन्दर सफा बनाउने योजना सहित सुरु भएको सरसफाइ अभियान अन्तरगत शनिवार बिहान चतराधाम क्षेत्र सरसफाइ गरिएको छ ।

नगरपालिकाले चलाएको अभियान अन्तरगत वराहक्षेत्र -१ चतरा धाममा रहेको बसपार्क, चतरा बजार, औलिया मठ परिसरमा सरसफाइ गरिएको थियो ।

नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा आयोजना भएको सरससफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्बिजिबि, व्यापारी, राजनीति दलका नेताहरू, वराहक्षेत्र सचेत समूहका पदाधिकारी, नगर प्रहरी लगाएको सहभागिता रहेको थियो ।

चतराधाम आउने पर्यटक तथा बोलबम मेलालाई लक्षित गरेर सरसफाइ कार्यक्रम आयोजना गरिएको नगर प्रमुख कार्कीले बताए । सरसफाइ कार्यक्रमलाई नियमित, प्रभावकारी बनाएर लैजाने नगर प्रमुख कार्कीको भनाई छ ।

कार्यभार सुरु गरेबाटै वराहक्षेत्रलाई सुन्दर र सफा नगरको रूपमा विकास गर्ने लक्ष्यसहित थालिएको सफा वराहक्षेत्र बनाउने अभियानलाई सार्थक बनाउन साप्ताहिक रूपमा नगर प्रमुख रमेश कार्की आफैँ सार्वजनिक स्थानमा झाडु र डस्बिन बोकेर निस्कने गर्दछन् ।